जनार्जन खत्री
सर्लाही, चैत १७ गते । यस वर्ष चैत महिनामा भएको पर्याप्त वर्षाले सर्लाहीका किसानलाई राहत पुगेको छ। पानीसँगै चलेको हावाहुरीले केही स्थानमा हाइब्रिड मकै बालीमा नोक्सान गरे पनि अन्य बाली र नयाँ खेतीका लागि आकाशे पानी वरदान सावित भएको किसानले बताएका छन्।
पछिल्लो दुई साताको अवधिमा पटक–पटक पानी परेपछि विशेष गरी आकाशे खेतीको भरमा रहेका चुरेवर्ती क्षेत्रका किसान खुसी भएका हुन्। जमिन पर्याप्त भिजेकाले किसान अहिले वस्तुभाउको प्राङ्गारिक मल छर्ने, बाँझो खेत जोत्ने र मकै रोप्ने काममा व्यस्त छन्।
ईश्वरपुर नगरपालिका–१२, लामीदमारका काजिमान योञ्जनका अनुसार चुरे क्षेत्रका किसानलाई यतिखेर मल बोक्ने र खेतबारी तयार पार्ने चटारो परेको छ। ईश्वरपुरसहित लालबन्दी, हरिवन र बागमती नगरपालिकाका माथिल्लो भेगका किसान अहिले खेतबारीको काममा केन्द्रित भएका छन्। यस्तै, दक्षिण–पूर्वी भेगका चन्द्रनगर, हरिपुर्वा, पर्सा र ब्रह्मपुरी क्षेत्रका किसानलाई पनि यो वर्षाले फाइदा पुर्याएको छ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले अहिलेको वर्षाले सुत्ला लाग्ने बेला भएको मकै, उखु र पसाउने बेला भएको गहुँलगायतका हिउँदे बालीलाई अमृत समान काम गरेको बताउनुभयो।
यद्यपि, बरहथवा र बागमती लगायतका केही क्षेत्रमा भने हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ। पालिकाका कृषि शाखामार्फत क्षतिको विवरण सङ्कलन भइरहेको ज्ञान केन्द्रले जनाएको छ।