सचिन पोख्रेल
इटहरी, चैत १७ गते । कोशी प्रदेशमा रहेको पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने ‘इस्टर्न ट्राभल मार्ट २०२६’ को छैठौं संस्करण विविध कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल पर्यटन वोर्डको सहयोग तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको समन्वयमा आयोजित मार्टको सफल आयोजनाले प्रदेशभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको आयोजक समितिले जनाएको छ ।
मार्टको अन्तिम दिन सहभागीहरूलाई सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित रमणीय पर्यटकीय स्थल तालतलैयाको अवलोकन गराइएको थियो । सो अबसरमा पर्यटकहरुलाई तालतलैया संरक्षण विकास समितिले खादा लगाएर स्वागत गरेका थियो ।
त्यसपछि बराहक्षेत्रस्थित सप्तकोशी नदीमा मोटर बोट सवारी गराउँदै नेपालको प्राचीन धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बराहक्षेत्रको प्रत्यक्ष अवलोकन गराइएको थियो । कार्यक्रमको औपचारिक समापन उदयपुर जिल्लास्थित बेलका रिसोर्टमा एक विशेष समारोहका बीच सम्पन्न गरिएको हो ।
सो अवसरमा भारतका पश्चिम बंगाल, बिहार, सिक्किमका साथै भुटानबाट आएका दुई सयभन्दा बढी पर्यटन व्यवसायी, पत्रकार तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई कोशी प्रदेशका विविध पर्यटकीय गन्तव्यहरूको प्रत्यक्ष अनुभव दिलाउँदै प्रदेशलाई नयाँ पर्यटन गन्तव्यको रूपमा चिनाउन प्रयास गरिएको थियो ।
मार्टको समापन कार्यक्रममा आयोजक समितिका सह–संयोजक तेजबहादुर पुरीले नेपाल, भारत तथा भुटानबाट सहभागी सबै अतिथिहरूप्रति आभार प्रकट गर्दै यस्तो किसिमको अन्तर्राष्ट्रिय सहकार्यले पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अझ बृहत्तर सहभागितासहित कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो ।
कार्यक्रमका संयोजक पुण्यप्रसाद भट्टराईको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऐरले नेपाल भ्रमणमा आउने विशेषगरी भारतीय पर्यटकहरूले सीमा नाकामा तथा यातायात व्यवस्थापनमा भोग्दै आएका समस्याहरू समाधान गर्न नेपाल सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताउनु भयो । उहाँले कोशी प्रदेशमा धार्मिक तथा प्राकृतिक पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि प्रवर्धन गर्न सहयोग पुग्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष भट्टराईले विभिन्न देशमा आयोजना हुने यस्ता पर्यटन मेलाबाट सिकेका अनुभवलाई आत्मसात गर्दै यस वर्षको मार्टलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले नेपाल, भारत र भुटानका पर्यटन व्यवसायीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई उपलब्धिमूलक र सफल बनाएको जानकारी गराउनुभयो ।
मार्टको दोस्रो दिन मोरङको सुन्दरहरैचा–५ मा रहेको विश्वकै अग्लो गाईको प्रतिमा रहेको नयाँ वृन्दावन गौशाला, विराटचौकस्थित सुविधा सम्पन्न होटेल नेपालरिका इटहरीस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिधाम तथा धनकुटाको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारको अवलोकन गराइएको थियो । त्यसैगरी, मार्ट अन्तर्गत आयोजित ‘बिजनेस टु बिजनेस विटुवि अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीहरूबीच अनुभव आदान–प्रदान र सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो ।
तीन दिने मार्टमा ५० भन्दा बढी ट्राभल्स तथा पर्यटन व्यवसायीहरूको स्टल सहभागी रहेको थियो ।