काठमाडौँ, चैत १७ गते ।त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, नागरिकमैत्री र जिम्मेवार बनाउन कर्मचारीलाई निर्देशन दिएको छ।
अस्पताल प्रशासन प्रमुख भोजराज भट्टले सूचना जारी गर्दै अस्पतालका सम्पूर्ण विभाग, शाखा, वार्ड, ओपिडी र युनिटका प्रमुख तथा इन्चार्जलाई सेवाग्राहीले छिटो, छरितो र सहज रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न अनुरोध गर्नुभएको छ ।
सूचना अनुसार अस्पतालका कर्मचारीले कार्यसमयमा अनुशासित ढङ्गले काम गर्नुपर्ने तथा कामको सिलसिलामा बाहिर जानुपरेमा सम्बन्धित विभाग वा शाखा प्रमुखलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।
यसैगरी काममा अवरोध नपर्ने गरी खाना तथा खाजाका लागि तोकिएको समयमै क्यान्टिन प्रयोग गर्न आग्रह गरिएको छ। अस्पताल प्रशासनका अनुसार सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउन सबै विभागले आफ्नो जिम्मेवारी पूर्णरूपमा पालना गर्नुपर्ने छ।
कार्य अनुशासन पालना नगरेको पाइएमा सम्बन्धित कर्मचारी स्वयं जिम्मेवार हुने पनि सूचनामा उल्लेख छ। अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य यस्तो निर्णय गरिएको अस्पताल प्रशासन प्रमुख भट्टले जानकारी दिनुभयो ।