• १७ चैत २०८२, मङ्गलबार

विपी प्रतिष्ठानलाई ४७ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

blog

निशा राई 

धरान, चैत १७ गते । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ ।

पोस्ट प्रो सोलुसन प्रा.लि.की प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त सामग्रीहरू प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठान जस्तो ठुलो स्वास्थ्य संस्थालाई आर्थिक सङ्कटको घडीमा निजि क्षेत्रबाट प्राप्त भएको सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ । यसले बिरामीको उपचारलाई थप सहज र प्रभावकारी बनाउने छ । 

वर्तमान समयमा प्रतिष्ठानमा बिरामीको चाप बढ्दो क्रममा रहेको र आर्थिक सङ्कटका कारण कतिपय स्वास्थ्य सामाग्रीहरूको अभाव खट्किरहेको अवस्थामा प्राप्त यस ठुलो परिमाणको सहयोगले सेवा प्रवाहमा प्रत्यक्ष टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

आफू धरानकै स्थायी बासिन्दा भएको नाताले आफ्नो ठाउँको गौरवको रूपमा रहेको यस गौरवशाली प्रतिष्ठानको सेवामा योगदान पुर्‍याउन पाउँदा आफू अत्यन्त हर्षित भएको दाता बनेपालीले बताउनुभयो । 

प्रतिष्ठानको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्य मनकारी व्यक्तित्व तथा व्यवसायीहरूलाई पनि आफ्नो क्षमता अनुसार सहयोग गर्न उहाँले आह्वान समेत गर्नुभयो । उक्त हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू, का.मु. डेपुटी रजिष्ट्रार श्री सागर ताम्राकार, इलेक्ट्रोमेड शाखका इन्जिनियर तथा प्रमुख राहुल मिश्रा, बायोमेडिकल शाखाका इन्जिनियर तथा प्रमुख श्री प्रदीप साह, डेपुटी मेट्रोन श्री विष्णुमाया तामाङ, जेनेरल स्टोर शाखाका प्रमुख महेश्वर राई, मेडिकल स्टोर शाखाका प्रमुख संजिव कर्ण, अस्पताल प्रशासनका हाउस किपिङ अफिसर मनोज यादव लगायत प्रा.लि. का तर्फबाट पदाधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।