विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १७ गते । सप्तरीमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष खेती गरिएको क्षेत्रफल बढेकाले उत्पादनमा पनि बढोत्तरी हुने देखिएको हो ।
कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार गत आर्थिक वर्षमा दुई हजार ८०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा १३ हजार ३५६ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने खेतीको क्षेत्रफल विस्तार भई तीन हजार १०० हेक्टर पुगेकाले १४ हजार ७८७ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जिल्लाका किसानहरू अझै पनि खेतमा चैते धान रोप्न व्यस्त रहेकाले यो तथ्याङ्क अझै बढ्न सक्ने बताउनुभयो । सप्तरीको हावापानी चैते धानका लागि उपयुक्त हुनुका साथै स्थानीय तहहरूले कृषि विद्युतीकरणमा जोड दिएकाले पनि किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।
“अहिले पालिकाहरूले किसानका लागि खेतमै बिजुली पुर्याएका छन् । बोरिङ र स्यालो ट्युबेलबाट सिँचाइ सहज भएकाले चैते धान खेतीप्रति किसानको उत्साह बढेको छ,” प्रमुख राउतले भन्नुभयो । उहाँका अनुसार सिँचाइको उचित व्यवस्था, समयमै बीउबिजन र मलखाद उपलब्ध भएमा चैते धानको उत्पादन अझै उल्लेख्य रूपमा वृद्धि गर्न सकिन्छ ।
सप्तरीका १८ वटा पालिकामध्ये छिन्नमस्ता, राजगढ, विष्णुपुर, तिलाठी कोइलाडी, महदेवा र रुपनी गाउँपालिकामा चैते धानको बढी खेती हुने गरेको छ । त्यस्तै हनुमाननगर कंकालिनी, बोदे बरसाइन, खडक र शम्भुनाथ नगरपालिकामा पनि चैते धानको उत्पादन राम्रो हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।