काठमाडौँ, चैत १७ गते । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८, घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो ।
महोत्तरीको गौशाला नगरपालिका–३, इँटाटारमा मोटरसाइकल दुर्घटना हुँदा औरही नगरपालिका–१ का २३ वर्षीय धर्मेन्द्र साहको मृत्यु भएको हो ।
त्यसैगरी कपिलवस्तुको बुद्धभूमि नगरपालिका–४ का १४ वर्षीय तुसार खनालको गुदरुङ खोलामा डुबेर मृत्यु भएको छ ।
प्रहरी समाचारकक्षले आज जारी गरेको समाचार ‘बुलेटिन’अनुसार धनुषाको सहिदनगर नगरपालिका–६, हरबडाका १५ वर्षीय कार्तिक मण्डलको आफ्नै घर अगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ । रासस