गुलरिया समाचारदाता
गुलरिया (बर्दिया), चैत १७ गते । बर्दिया राष्ट्रिय निकुञ्जछेउको बस्ती सुरक्षित बनाउनका लागि ठाकुरबाबा नगरपालिकाले १७ किलोमिटर हात्ती छेकबार आरसिसी पर्खाल निर्माण गरेको छ । हात्तीबाट उच्च जोखिम रहेको क्षेत्रमा नगरपालिकाले आरसिसी पर्खाल निर्माण गरेको हो ।
हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुबाट जोगाउनका लागि नगरपालिकाले हात्ती छेकबार निर्माण गरेको हो । ठाकुरबाबा नगरपालिकाको ३२ किलोमिटर सिमाना निकुञ्जसँग जोडिएको छ । नगरपालिकाले गत वर्षसम्म ११ किलोमिटर पर्खाल निर्माण गरिसकेको थियो । चालु आर्थिक वर्षमा चार किलोमिटर पर्खाल र दुई किलोमिटर बबई सिँचाइ आयोजनाको नहर निर्माण भएपछि जम्मा १७ किलोमिटर छेकबार निर्माण भएपछि हात्तीलगायतका वन्यजन्तु बस्ती र खेतमा छिर्न नसक्ने गरी रोकिने भएका छन् ।
निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व दिनहुँ चर्कने गरेको छ । विशेष गरी वन्यजन्तु खेत तथा बस्तीमा छिरेर नोक्सान गर्न थालेपछि द्वन्द्व निम्तिने गरेको स्थानीय बताउँछन् । मानव–वन्यजन्तु द्वन्द्व रोक्नका लागि हात्ती छेकबार आरसिसी पर्खालको निर्माण गरिएको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिना भट्टराईले बताउनुभयो । उहाँले मानव–वन्यजन्तु द्वन्द्व रोक्नुपर्ने नगरपालिकाको बाध्यता र नगरवासीको माग भएको हुनाले अरू विकासनिर्माणका काम रोकेर निकुञ्जको किनारामा पर्खाल निर्माण गर्नु परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हात्ती छेकबार पर्खाल निर्माण गर्न नपरेको भए थप २० किलोमिटर सडक निर्माण हुने थियो । हाम्रो अधिकांश बजेट त पर्खाल निर्माण र वन्यजन्तुपीडितलाई राहत वितरण गर्र्दैमा सकिन्छ ।” नगरपालिकाको सिमानामा पर्ने र जङ्गली जनावरबाट जोखिममा रहेको १५ किलोमिटर निकुञ्जको सीमाक्षेत्रमा आरसिसी पर्खाल बनाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
विभिन्न वडामा गरेर तत्कालका लागि करिब छ किलोमिटर तारजाली लगाएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । बजेटको कमीले गर्दा सबै स्थानमा आरसिसी पर्खाल बनाउन नसकिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका, सङ्घ सरकारको लागत सझेदारीमा आरसिसी पर्खाल निर्माण गरिरहेका छौँ ।”
उहाँका अनुसार नगरपालिकाले १५ किलोमिटर आरसिसी पर्खाल निर्माण गरेको र बबई सिँचाइ आयोजनाले वन्यजन्तुआसपास हुन नसक्ने गरी दुई किलोमिटर नहर निर्माण गरेको छ । उहाँले एक किलोमिटर आरसिसी पर्खाल निर्माण गर्नका लागि करिब एक करोड ८२ लाख रकम लाग्ने गरेको बताउनुभयो । पर्खाल निर्माण भएपछि बाघ, हात्ती, गैँडा, चित्तल, बँदेललगायतका वन्यजन्तु खेतबारी र बस्तीमा पस्न कम भएको स्थानीय मुकुन्द क्षेत्रीले बताउनुकभयो ।