केदार तिमल्सिना
बनेपा, चैत १७ गते । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विपी राजमार्ग भएर चल्ने सवारी आवागमनमा रोक लगाएको छ । पनौतीको माथिल्लो क्षेत्र र नमोबुद्धलगायतका स्थानमा वर्षा भइरहेकाले तत्कालका लागि राजमार्गमा सवारी सञ्चालन बन्द गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले मङ्गलबार साँझ रोसी खोलाको जलाधार क्षेत्र (पनौती र नमोबुद्ध) मा ठुलो वर्षा भएकाले खोलामा पानीको सतह बढ्न गएकाले सुरक्षाका लागि सवारी रोक्नुपरेको बताउनुभयो । उहाँका अनुसार पानीको सतह बढ्दा राजमार्ग भएर यात्रा गर्ने यात्रु र सवारी साधन जोखिममा पर्न सक्ने भएकाले यो निर्णय लिइएको हो ।
“अहिलेलाई हामीले जहाँ-जहाँ सवारी साधन पुगेका छन्, त्यहीँ सुरक्षित रूपमा रोकेका छौँ । वर्षाको अवस्था हेरेर मात्र पुनः सञ्चालन गरिनेछ,” प्रहरी नायब उपरीक्षक विष्टले भन्नुभयो । उहाँले सडकको अवस्थाबारे जानकारी लिनका लागि प्रहरीको नियन्त्रण कक्ष १०० र १०३ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो ।
गत वर्ष असोज दोस्रो साता आएको बाढीका कारण विपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक खण्डमा क्षति पुगेको थियो । बाढीले सडक बगाएपछि हाल उक्त क्षेत्रमा डाइभर्सन निर्माण गरी खोलाकै किनारबाट सवारी साधन सञ्चालन हुँदै आएका छन् । नदी किनारकै अस्थायी मार्ग भएकाले वर्षा हुनासाथ यहाँको आवागमन असुरक्षित बन्ने गरेको छ ।