लक्ष्मी चौधरी
जनकपुरधाम, चैत १७ गते । आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले मानव अधिकार वर्ष पुस्तक २०२६ सार्वजनिक गरेको छ। मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा पुस्तकको ३३औं संस्करण सार्वजनिक गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभा सदस्य तथा महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रुपा कुमारी यादवले मानव अधिकारका विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो । उहाँले कुनै दवाव बिना मानव अधिकारका मुद्दामा निष्पक्षता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलले राज्यले मानव अधिकार क्षेत्रमा गरेका सकारात्मक कार्यहरू पनि वर्ष पुस्तकमा समेटिनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले मानव अधिकारकर्मी निष्पक्ष हुनुपर्ने बताउँदै बिचौलिया र दबाबका कारण पीडितले न्याय पाउन कठिन हुने अवस्था रहेको उल्लेख गर्नुभयो ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका संयोजक बुद्धनारायण सहनीले मानव अधिकार संरक्षण र प्रवद्र्धनका विषयमा व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले मानव अधिकारलाई मूलधारमा ल्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरू मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रतिनिधि, मानव अधिकारकमी तथा महिला अधिकारकर्मी र पत्रकारहरुले वर्ष पुस्तकमा केवल पीडितहरूको तथ्याङ्क मात्र नभई न्याय प्राप्त गरेका घटनाहरू, साथै मानव अधिकार क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संघसंस्थाहरूको विवरण पनि समावेश गर्न सुझाव दिएका थिए।
कार्यक्रममा इन्सेक मधेशका संयोजक राजु पासवानले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार मधेश प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लामा मात्र दाइजोका कारण हिंसामा परेका महिलाको संख्या १२९ पुगेको छ, जुन देशकै सबैभन्दा उच्च रहेको उल्लेख गरिएको छ । साथै संयोजक पासवानले उक्त कार्यक्रममा छलफलमा उठेका सवालहरुलाई आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।