राममणि दाहाल
मकवानपुर, चैत १७ गते । नागरिकता लिन जिल्ला सदरमुकाम हेटौँडासम्म आउन नसक्ने मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङ र दलित परिवारले आफ्नै बस्तीमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
गाउँपालिकाले पालिकाको वडा ९ डन्टारमा आयोजना गरेको एकीकृत बृहत घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।
शिविरमा पुग्नुभएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पहुँच नभएका र सदरमुकामसम्म नागरिकता बनाउन जान नसक्ने समुदायिलाई नागरिकताको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेलले सदरमुकामसम्म आउन नसक्ने चेपाङ, दलितलगायतका आर्थिक रुपमा विपन्नलाई घरबस्तीमा नै पुगेर नागरिकता वितरण गरिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिको किटानी सिफारिश र सनाखतका आधारमा गाउँमा पुगेर कतिपयलाई खोजेर ल्याएर नागरिकको प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
शिविरमा ७२ वर्षीया सुन्तली प्रजा र ५४ वर्षीया सुन्तली परियारसँगै ३० जना नागरिकता प्रदान गरिएको थियो ।
एकल महिला परियारले एकल महिले पाउने सुविधा पाउने आशामा लामा समयदेखि नागरिकता बनाउन प्रयास गरेपनि नपाएको बताउनुभयो । "भत्ताले दैनिकी चलाउन सहज होल भनेर नागरिकता बनाउनु खाजेकी हुँ," उहाँले भन्नुभयो, "अब नागरिकता पाएसँगै सरकारले दिने भत्ताले बालबच्चाको पालनपोषणमा सहयोग आशा छ ।"
उता ७२ वर्षीया सुन्तली प्रजालाई भने खोजेर ल्याएर नागरिक दिइएको थियो । नागरिकतासँगै एक हजार ८२ जनालाई राष्ट्रिय परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
वडा र पालिकाबाट प्रदान गरिने सेवा टोलबस्तीमा पुगेर प्रदान गर्न सुरु गरेका छौँ अध्यक्ष मल्लले भन्नुभयो, सेवा पाउने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित बृहत एकीकृत घुम्ती शिविर आयोजन गरी टोलबस्तीमा पुगेर प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष मल्लले नागरिकले सेवा लिन समय, श्रम र धन खर्च गरेर गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न टोलबस्ती र वडामा पुगेर सेवा प्रदान गर्न सुरु गरिएको जानकारी दिनुभयो ।
शिविरमा स्वास्थ्य शिविर, सामान्य सेवा लिन पालिका जानुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै टोलबस्ती र वडाबाट सेवा दिन अभियान सुरु गरिएको हो उहाँले भन्नुभयो, नागरिकलाई सेवा प्राप्तिमा सहज वातावरण निर्माण गर्नु अभियानको उद्देश्य हो, नागरिकले सकेसम्म आफ्नै वडाबाट सेवा पाउनुपर्छ । उहाँले शिविरको क्रममा योजनाको अनुगमन, मूल्याङ्कन, छनोटलगायतका कामसमेत गरिएको बताउनुभयो ।
शिविरअन्तर्गत स्वास्थ्य शिविर, निःशुल्क आयुर्वेदिक सेवा, बहुक्षेत्रीय पोषण कार्यक्रम, तथा सुनौला हजार दिन लक्षित गर्भवती र सुत्केरी आमाहरूलाई स्वच्छतासम्बन्धी सामग्री र तरकारीको बिउ वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लले नागरिकले सेवा लिन समय, श्रम र धन खर्च गरेर गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न टोलबस्ती र वडामा पुगेर सेवा प्रदान गर्न सुरु गरिएको जानकारी दिनुभयो ।
यसअघि गाउँपालिकाले पालिकाको वडा नम्बर १ मा पनि शिविर सञ्चालन गरेको थियो ।