• १८ चैत २०८२, बुधबार

उद्धार गरिएको मृगको बच्चालाई थप उपचारका लागि कास्की पठाइयो

blog

उद्धार गरिएको मृगको बच्चा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १७ गते । डिभिजन वन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट उद्धार गरिएको घाइते एक मृगको बच्चालाई थप उपचार र संरक्षणका लागि कास्की पठाएको छ । दमौलीमा प्राथमिक उपचारपछि थप रेखदेखका लागि कास्कीको पचभैया प्राणी उद्यान पठाइएको कार्यालयले जनाएको छ ।

माउ वा बथानबाट छुटेर गाउँ पसेको अवस्थामा शनिबार स्थानीयबासीले मृगको बच्चा देखेपछि वन कार्यालयलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ वन टोलीले उक्त बच्चाको उद्धार गरेको थियो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार उक्त मृगको बच्चा आफैं बाच्न सक्ने अवस्थामा नरहेकाले मङगलबार उद्यान पठाइएको हो । 

रानाभाटले भन्नुभयो, “यत्तिकै वनमा छाडिदिँदा अन्य जनावरको आक्रमणमा पर्न सक्ने वा उचित आहारको अभावमा मर्ने जोखिम देखिएकाले हामीले संरक्षण गर्न लागेका हौं । पचभैया प्राणी उद्यानमा उपचार र संरक्षण दुवैको राम्रो सुविधा छ, त्यसैले सुरक्षित खोरमा राखेर गाडीमार्फत त्यहाँ पठाएका छौं ।’’ अहिले उद्धार गरिएको मृगको स्वास्थ्य अवस्था सामान्य रहे पनि सानो भएकाले विशेषज्ञको निगरानी आवश्यक रहेको रानाभाटले जानकारी दिनुभयो ।