कविराज घिमिरे
हिले, चैत १८ गते । पूर्वाधार विकास कार्यालय धनकुटाले जिल्लाका तीन महत्वपूर्ण सडक खण्डमा ‘सडक हेरालु’ खटाएको छ। विगतमा निर्माण भइसकेका यी सडक नियमित हेरचाह नहुँदा बिग्रँदै गएका थिए। अब सडक हेरालुको व्यवस्थाले सडक संरक्षण र दिगोपनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सडक हेरालु हिले–छिन्ताङ, बिहीवारे हटिया–कर्मिटार–छथर र गुठिटार–बाघखोर–छिरिङ सडक खण्डमा खटाइएका छन्। प्रत्येक सडकमा दुई–दुई जना हेरालु रहनेछन्। प्रारम्भमा तीन महिनाका लागि सम्झौता गरिएको भए पनि कार्यसम्पादनअनुसार अवधि थप हुने बताइएको छ।
सडक हेरालुले नियमित मर्मत, नाली सफाइ, पहिरो पन्छाउने, अतिक्रमण रोक्ने र आवतजावत सहज बनाउने काम गर्नेछन्। वर्षायाममा हुने सामान्य पहिरो, नाली पुरिँदा सडकमा पस्ने लेदो र बाढीका कारण सडक अवरुद्ध हुने समस्या समाधानमा उनीहरूको भूमिका महत्वपूर्ण रहने कार्यालय प्रमुख उत्तम नारायण खरेलले जानकारी दिनुभयो।
कार्यालयका अनुसार हिले–छिन्ताङ सडक करिब १० किलोमिटर, बिहीवारे हटिया–कर्मिटार–छथर सडक करिब २१ किलोमिटर र गुठिटार–बाघखोर–छिरिङ सडक करिब १० किलोमिटर लम्बाइका छन् ।
यी सडकहरू धनकुटा सदरमुकामसँग ग्रामीण क्षेत्र जोड्ने मुख्य मार्गका रूपमा रहेकोले स्थानीयको दैनिक जीवनमा ठूलो भूमिका खेल्दछन्। पछिल्लो समय सवारी साधनको चाप बढ्दै गएपछि नियमित हेरचाह नहुँदा सडकको दिगोपनामा असर परेको थियो। अब सडक हेरालु व्यवस्थासँगै दीर्घकालीन रूपमा सडकको अवस्था सुधार हुने र यात्रुहरूलाई सहज सेवा प्राप्त हुने विश्वास गरिएको छ।