• १९ चैत २०८२, बिहिबार

विगतको बेथिति चिर्दै पाल्हीनन्दन स् ७५ प्रतिशत काम सम्पन्न

blog

पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिका। तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १९ गते।
 विगतका वर्षहरूमा ‘बजेट फ्रिज’ हुने पालिकाका रूपमा परिचित पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले यतिबेला आफ्नो छवि सुधार्दै विकास निर्माणमा उल्लेखनीय फड्को मारेको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म पालिकाले करिब ७५ प्रतिशत कार्य प्रगति हासिल गरेको हो।

कुनै समय प्रमुख प्रशासकीय अधिकृत नबस्ने, कर्मचारी–पदाधिकारीबीच खिचातानी हुने तथा प्रशासनिक अस्थिरता रहने यस पालिकामा यस वर्ष भने कामप्रति उत्साहजनक वातावरण देखिएको छ। पदाधिकारी र कर्मचारीबीच आपसी समझदारी कायम हुनु तथा कर्मचारीहरूले स्वयं जिम्मेवारी लिँदा कार्य प्रगति तीव्र भएको देखिन्छ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडले भन्नुभयो, “अहिलेको कार्य प्रगति देख्दा आफैँलाई पनि आश्चर्य लागेको छ। हालसम्म ७५ प्रतिशत कार्य सम्पन्न भई भुक्तानीको अवस्थामा आएको छ। बाँकी २५ प्रतिशतका लागि अझै तीन महिना बाँकी छ। यही गतिमा काम भए जेठ महिनाभित्रै सबै योजना सम्पन्न हुनेछन्।”

लेखा अधिकृत सञ्जय शर्माका अनुसार कर्मचारीलाई विधि र प्रक्रियामा सहजीकरण गरिँदा काम गर्ने वातावरण बनेको हो।

“अहिले कर्मचारीमा ठूलो उत्साह छ,” उहाँले भन्नुभयो, “प्राविधिक र निर्माण व्यवसायीका समस्यालाई पनि सहजीकरण गरिएको छ। तालिम, गोष्ठी र सेवा परामर्शजस्ता काममा कर्मचारीहरूले आफैँ पेश्की लिएर काम गरिरहेका छन्, जसले गर्दा समयमै लक्ष्य भेट्न सहज भएको छ।”

विकासको यो गतिमा जनप्रतिनिधिको पनि उत्तिकै साथ रहेको कर्मचारीहरूको भनाइ छ। कानुनी प्रावधान र जनप्रतिनिधिको चाहनाबीच सामञ्जस्यता मिलाउँदा धेरै समस्या स्वतः समाधान भएको लेखा अधिकृत शर्माले बताउनुभयो।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले हालको कार्य प्रगतिप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्नुभएको छ। “अहिलेको नतिजाले पाल्हीनन्दन विकासको बाटोमा छ भन्ने प्रमाणित गरेको छ,” अध्यक्ष गुप्ताले भन्नुभयो।

यस वर्षको प्रगतिले समयमै बजेट खर्च नहुने समस्या झेलिरहेका अन्य स्थानीय तहका लागि पनि पाल्हीनन्दनले सकारात्मक सन्देश प्रवाह गरेको छ।