• १९ चैत २०८२, बिहिबार

एक वर्ष बित्दा पनि पुल अधुरो

blog

निर्माण सम्पन्न गर्ने मिति सकिएको पचालझरनाको कर्णालीमाथिको पुलको अवस्था। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत १९ गते।
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोड्ने पक्की पुल निर्माणको सम्झौता मिति सकिएको एक वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन।

पलाँता गाउँपालिका पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका वडालाई राष्ट्रिय राजमार्गसँग जोड्ने उद्देश्यले पुल निर्माणका लागि ठेक्का भए पनि पुल नबन्दै सम्झौता अवधि समाप्त भएको हो।

कर्णाली प्रदेश सरकारबाट आयोजना स्वीकृत भई बजेट व्यवस्था भएपछि भौतिक पूर्वाधार विकास कार्यालय, कालीकोटमार्फत ठेक्का भई निर्माण व्यवसायीले सम्झौता गरेको थियो। तर हालसम्म खाल्डो खन्नेबाहेक अन्य कुनै उल्लेखनीय काम हुन नसक्दा स्थानीय नागरिक समस्यामा परेका छन्।

पुल निर्माणका लागि श्री हिराचन-क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७, काठमाडौंले ठेक्का लिएको थियो। निर्माण कम्पनी र भौतिक पूर्वाधार विकास कार्यालय, कालीकोटबीच २०७७ असोज १३ गते सम्झौता भएको थियो।

सम्झौताअनुसार पुल निर्माण २०८१ चैत २५ गतेभित्र सम्पन्न गर्ने उल्लेख भए पनि मिति सकिएको एक वर्ष पुग्न लाग्दासमेत प्रगति हुन नसकेपछि स्थानीय आक्रोशित बनेका छन्।

स्थानीय प्रकाश कठायतले दुई गाउँपालिकाका नागरिकको सवारी आवागमनको अधिकार हनन गर्ने निर्माण व्यवसायीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।

उहाँले केही समय अझै सरकारको प्रतीक्षा गर्ने, त्यसपछि पनि सुनुवाइ नभए स्थानीय युवा स्वयं निर्माण व्यवसायीलाई खोज्दै जाने चेतावनी दिनुभयो।

कठायतले पचालझरनाको पुरानो केन्द्र जारकोटदेखि पडेखासम्मको सडक निर्माण आयोजना पनि अलपत्र परेको बताउनुभयो।
उक्त सडकका लागि पूर्वाधार विकास कार्यालय, कालीकोट र प्रभु निर्माण सेवा, कालीकोटबीच २०७७ फागुन ३ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८१ जेठ २० गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म काम सुरु नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो।

ठेक्का लगाउने तालुकदार कार्यालय भौतिक पूर्वाधार विकास कार्यालय, कालीकोटका प्रमुख प्रभाकर सिंहले समयमा काम गराउन धेरै प्रयास गरिएको तर निर्माण व्यवसायीले अटेर गर्दै आएको बताउनुभयो।

उहाँका अनुसार निर्माण व्यवसायीलाई २०८४ असार मसान्तसम्म म्याद थप गरिएको छ।

“निर्माण व्यवसायीले वर्षात् लागेपछि काम गर्छु भन्नुहुन्छ, तर त्यो बेला पानीको बहाव बढेर कामै गर्न नसकिने अवस्था हुन्छ,” उहाँले भन्नुभयो।

कार्यालय प्रमुख सिंहले स्थानीय नागरिक नजागेसम्म पुल निर्माण हुनेमा आशा गर्ने ठाउँ नरहेको टिप्पणी गर्नुभयो।

स्थानीयले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र कालीकोटबाट प्रतिनिधिसभामा निर्वाचित महेन्द्रबहादुर शाही लाई पनि यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।