• १९ चैत २०८२, बिहिबार

गुल्मीको चार स्थानीय तहमा आजैबाट उत्तरपुस्तिका जाँच्न सुरु

blog

चन्द्रकोट क्याम्पस परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच हुँदै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), चैत १९ गते । पहिलेका माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा सकिएको केही समयपछि मात्रै उत्तरपुस्तिका जाँच गरिन्थ्यो । फरक जिल्लामा उत्तरपुस्तिका जाँच हुँदैआएको थियो । 

अहिले परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गर्ने व्यावस्था मिलाइएको छ । त्यो पनि आजको आजै । चन्द्रकोट गाउँपालिकाको शिक्षा शाखा प्रमुख नयनसिंह ठकुरीका अनुसार चन्द्रकोट गाउँपालिकाको चन्द्रकोट क्याम्पस परीक्षा केन्द्र र मानका टीकाराम बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा आज नै उत्तरपुस्तिका जाँच सुरु गरिएको हो । 

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले चन्द्रकोट, धुर्कोट, मदाने र रुरुक्षेत्र गाउँपालिकाले उत्तरपुस्तिका जाँच आजबाटै सुरु गरेका छन् । उहाँले राज्यले आफूहरूलाई यति ठुलो जिम्मेवारी दिएको भन्दै शिक्षकहरू उत्साहित भएको अनुगमनको क्रममा प्रतिक्रिया दिएको बताउनुभयो । 

आजको परीक्षा सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बाँकी रहेका स्थानीय तहले शुक्रबारदेखि उत्तरपुस्तिका जाँच गर्न सुरु गर्ने घिमिरेले जानकारी दिनुभयो । 

यसवर्ष गुल्मीबाट करिब साढे चार हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएका छन् । गुल्मीका १५१ विद्यालयका चार हजार ४५२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएकोे छ । 

गत वर्षको तुलनामा अहिले विद्यार्थीको सङ्ख्या घटेको छ । २०८१ को एसईईमा १३८ विद्यालयबाट चार हजार ८५७ परीक्षार्थी सहभागी थिए । अहिले ४०५ जना परीक्षार्थी कम छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार परीक्षाका लागि २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

अहिले नियमित साधारणतर्फ तीन हजार ३४२, प्राविधिकतर्फ २५८ र ग्रेड वृद्धितर्फ ८५१ जना परीक्षार्थी सहभागी हुने छन् । २०८१ सालमा साधारणतर्फ तीन हजार ५२६, प्राविधिकतर्फ २६० र ग्रेडवृद्धितर्फ एक हजार ६५ परीक्षार्थी थिए । २०८० को एसईईमा भन्दा गत वर्ष विद्यार्थी ७६० जना बढी थिए ।  

२०८० को एसईईमा १३८ विद्यालयका चार हजार ९७ जना परीक्षार्थीले २८ वटा परीक्षा केन्द्रमार्फत परीक्षा दिएका थिए । नियमित साधारणतर्फ तीन हजार ७७७, प्राविधिकतर्फ २०५, नियमित खुलातर्फ १३ र ग्रेड वृद्धितर्फ १२ जना विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।