• १९ चैत २०८२, बिहिबार

प्रधानमन्त्री कप : आर्मी र सुदूरपश्चिम विजयी

blog

काठमाडौँ, चैत १९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । 

जनकपुरमा बिहिबार भएको खेलमा आर्मीले मधेशलाई ६ विकेटले हरायो । यस्तै वीरगन्जमा भएको अर्को खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई दुई विकेटले हरायो । जितसँगै अपराजित यात्रा जारी राखेको आर्मी तालिकाको शीर्षस्थामा छ । 

जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको आर्मीले २९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । आर्मीको जितमा ओपनर तृतराज दासले सर्वाधिक ६९ रन बनाउनुभयो ।

बसिर अहमदले अविजित ४१, कप्तान विनोद भण्डारीले ३२ र कुशल मल्ल २४ रन बनाउनुभयो । बलिङमा मधेशका मोहम्मद आदिल आलमले दुई तथा पवन सरार्फ र विशाल सुस्लिङले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । मधेशका लागि विशाल सुस्लिङले सर्वाधिक ५१ रन बनाउनुभयो ।

कप्तान अनिल साहले ४२, पवन सरार्फले २२ र विशाल पटेलले १६ रन बनाउनुभयो । बलिङमा आर्मीका वसिर अहमदले तीन विकेट लिनुभयो । यस्तै शाहब आलम र नरेन साउदले दुई दुई तथा आकाश चन्द र कुशल मल्लले एक एक विकेट लिनुभयो । 

यस्तै वीरगन्जमा जितका लागि एक सय ९१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.२ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा एक सय ९० रन बनाएको थियो । 

आजको जितसँगै पाँच खेल सकेको आर्मीले नौ अङ्क बनाएको छ । दोस्रो स्थानमा उक्लिएको सुदूरपश्चिमको समान खेलबाट आठ अङ्क छ । पराजित मधेश सात अङ्कसहित चौथो र तीन अङ्क बनाएको गण्डकी नवौँ स्थानमा छ ।