बनेपा समाचारदाता
बनेपा, चैत २० गते । जिल्लाका विभिन्न स्थानमा सहज रूपमा यातायात सञ्चालन गर्नका लागि चालु आर्थिक वर्षमा १९ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा १२ वटा व्रmमागत र सात वटा नयाँ पुल निर्माणका लागि ठेक्का आह्वान गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) वीरेन्द्रकुमार बज्राचार्यले चालु आवमा जिल्लामा १९ वटा मोटरेबल पुल निर्माण हुने बताउनुभयो । उहाँले कुल निर्माण हुने पुलमध्ये १२ वटा पुल व्रmमागत योजनाका रूपमा अघि बढेको र सात वटा नयाँ बन्ने पुलको बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो ।
जिल्लाको महाभारत गाउँपालिकामा खानीखोला तथा पार्वतीखोला तीनखुट्टे पक्की पुलको ७० प्रतिशत काम, पनौती नगरपालिका–९ मा रोसीखोला खल्थली पक्की पुलको ९९ प्रतिशत, पनौती नगरपालिका–९ मै बाउन्ने सडक पुलको ४० प्रतिशत काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यस्तै महाभारत गाउँपालिका–१ देखि ३ जोड्ने देवीटार पुल बनखुखोलाको ६८ प्रतिशत, खानीखोला गाउँपालिका–६ र ५ जोड्ने खानीखोला पुलको ६६ प्रतिशत, काभ्रेपलाञ्चोकको खानीखोला–७ र ललितपुर जोड्ने दुर्लुङखोला पुलको २५ प्रतिशत काम सकिएको कार्यालयले जनाएको छ ।
जिल्लाको रोसी गाउँपालिका–३ मा अँधेरीखोला पक्की पुलको ६० प्रतिशत, धुलिखेल नगरपालिका–१० मा निर्माणाधीन सुँडीखोला पुलको ३० प्रतिशत र महाभारत गाउँपालिका अन्तर्गत जनमुक्तिमार्गमा पर्ने आँकुराखोला सडक पुलको काम ३५ प्रतिशत सम्पन्न भएको छ । सिडिई बज्राचार्यले मण्डनदेउपुर–६ मा थारखोला सडक पुल निर्माण अन्तर्गत हालसम्म २५ प्रतिशत, पनौती नगरपालिका–१० र ११ जोड्ने रोसीखोलाबाट शङ्खु बल्थली पुल (बालुवा) को काम ५५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले मण्डनदेउपुर नगरपालिका–८ स्थित ढाइटार दारमेटार पुललाई व्रmमागत योजनामा राखेर पुल निर्माणको काम सुरुवात गर्न लागिएको बताउनुभयो ।
उहाँले चालु आवमा नै जिल्लामा अन्य सात वटा पुल निर्माणको काम सुरु गर्न बोलपत्र आह्वान गरिएको बताउनुभयो । उहाँले तेमाल गाउँपालिका–५ मा रोसीखोला गिम्दीबेँसी पुल, रोसी गाउँपालिका–५ र ६ जोड्ने पोटाखोला पुल, धुलिखेल नगरपालिका–१ र २ जोड्ने चमारेखोला पुल निर्माणका लागि चैत १० गते बोलपत्र आह्वान गरिएको बताउनुभयो । यसै वर्ष सुरु गर्नका लागि डाँफेखोला पक्की पुल, नमोबुद्ध नगरपालिका–७ मा दाप्चाखोला पक्की पुल, पनौती नगरपालिका–३ मा घ्याल्कुखोला मोटर पुल र भैँसेपाटी महेन्द्रज्योति पनौती जोड्ने ल्याखुनखोला मोटर पुलको बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले कार्यालयबाट निर्माण भइरहेका पुलमध्ये दुई वटा कलभर्ट र १७ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि विभिन्न पालिका र वडा तथा बस्तीसम्म सहज रूपमा यातायात सञ्चालनमा सहजता आउने बताउनुभयो ।