• २० चैत २०८२, शुक्रबार

मुस्ताङमा भारतीय सहयोगमा सुविधासम्पन्न विद्यालय भवन बन्दै

blog

भारतीय दूतावासको सहयोगमा मुस्ताङमा बन्ने विद्यालय भवनको सम्झौतापत्रमा हस्ताक्षर गरिँदै । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २० गते ।
मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फामा अवस्थित जनबाल माध्यामिक विद्यालयमा भारतीय दूतावासको लगानीमा सुविधासम्पन्न विद्यालय, छात्राबास भवन बन्ने भएको छ ।

‘नेपाल–भारत मैत्री विकास साझेदारी’अन्तर्गत १४ करोड १६ लाखको सहयोग लगानीमा बाल तथा अपाङ्गमैत्री ३ तले ४७ कोठाको नयाँ भवनको निर्माण हुने भएको हो । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा आयोजित एक समारोहका बिच भारतीय दूतावासको तर्फबाट काउन्सिलर अविनास कुमार सिंह, गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र मन्त्रालयबाट शाखा अधिकृत प्रल्हाददकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा अबको १५ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान, भौतिक निर्माणको दैनिक निरीक्षण, कार्य हस्तान्तरण सहित अन्य कार्यहरु गाउँपालिकाले गर्ने अध्यक्ष लालचनले बताउनुभयो । अध्यक्ष लालचन भन्नुहुन्छ, ‘‘यो सहयोगले सिंगो गाउँपालिकको शैक्षिक सहयोगमा राहत मिलेको छ, हामीले तोकिएको समयमै भौतिक पूर्वाधारको काम सम्पन्न गर्नेछौ ।’’

नयाँ भवनमा नयाँ कक्षा, छात्रछात्रा छात्रावास, खानेपानी, सुरक्षा गार्डको कोठा, वातावरणमैत्री पर्खाल लगायतका संरचना निर्माण हुने गाउँपालिका अध्यक्ष लालचनले बताउनुभयो ।

नयाँ पूर्वाधारले भविष्यमा प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी क्याम्पस सहित उच्च माध्यमिक तहको पठनपाठन गराउन सहज हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सकबहादुर लालचनले बताउनुभयो । मुस्ताङमा भारतीय दुतावासको सहयोगमा गुम्बा शिक्षा सहित स्वास्थ्य लगायतका पूर्वधार विस्तारमा सहयोग भइरहेको छ ।