• २० चैत २०८२, शुक्रबार

‘महिलाको आवाजलाई प्रतिनिधि सभामा लैजान्छु’

blog

नवराज नेपाली 

गलकोट (बागलुङ), चैत २० गते । माओवादीको भूमिगत सङ्घर्षदेखि राजनीतिमा सक्रिय बागलुङबाट प्रतिनिधि सभामा पुग्नुभएको छ बलावती शर्मा । माओवादीको राजनीतिमा लामो समयदेखि सक्रिय शर्मा महिलाको आवाजलाई संसद्मा पुर्‍याउन त्यहाँ पुगेको बताउनुहुन्छ । स्तन र पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलाको ज्यान गएको बताउँदै नीति बनाएर निःशुल्क परीक्षणको व्यवस्था मिलाउन आफूले पहल गर्ने बताउनुभयो । बागलुङका विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रसँग जोडेर अघि बढ्ने शर्माले बताउनुभयो । क्यान्सरको तेस्रो र चौथो अवस्थमा पुगेपछि मात्रै रोग पत्ता लाग्दा महिलाको धेरै ज्यान गयो, पहिल्यैै स्तन र पाठेघरको मुखको क्यान्सरको परीक्षण अनिवार्य निःशुल्क रूपमा गराउन नीतिगत रूपमै सरकारलाई दबाब दिने शर्माले बताउनुभयो । 

कालीगण्डकी कोरिडोर मध्यपहाडी लोकमार्गका कारण बागलुङमा पर्यटनको राम्रो सम्भावना रहेकाले नीतिगत रूपमा पूर्वाधारमा लगानी बढाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।  

अहिलेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य रहनुभएको शर्मा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मार्फत समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद्मा पुग्नुभएको हो । नेपाली कम्युनिस्ट पार्टीको खस आर्यतर्फको बन्दसूचीमार्फत उहाँ संसद्मा निर्वाचित हुनुभएको थियो । २०२८ फागुनमा बागलुङको पैयुँथन्थापमा जन्मनुभएकी बलावती शर्मा बागलुङ नगरपालिका–१२, अमलाचौर निवासी माओवादीका नेता देवेन्द्र पौडेलसँग २०४६ सालमा वैवाहिक सम्बन्धमा बाँधिनु भएर सँगै राजनीतिमा थप क्रियाशील हुनुभएको थियो । उहाँ विद्यालय तहमा अध्ययन गर्दैगर्दा २०४२ सालमा राष्ट्रिय जनमोर्चाको अखिल छैटौँमा आबद्ध हुनुभएको थियो । 

२०४५ मा एसएलसी परीक्षा दिएर निस्किँदा उहाँ तीन दिन पञ्चायतविरुद्ध लागेको भन्दै पक्राउ पर्नुभएको थियो । २०५१ सालदेखि भने बलावती माओवादीमा सक्रिय हुनुभयो । त्यसलगत्तै काठमाडौँको महिलाको नेतृत्व गर्नुभएकी शर्मा २०५३ सालदेखि माओवादीको भूमिगत राजनीतिमा सक्रिय भएर लाग्नुभयो । २०६० देखि २०६२ सालसम्म रोल्पा जिल्लाको सहइन्चार्जको समेत भूमिकामा काम गरेको शर्माले सुनाउनुभयो । २०५१ मा जन्मेकी छोरीलाई कहिले सँगै बोकेर त कहिले आफन्तकोमा छाडेर शर्माले राजनीतिक यात्रालाई थप सक्रिय बनाएको बताउनुहुन्छ । 

आफ्नो व्यावहारिक जीवनलाई अलग्गै राखेरसमेत आफू निरन्तर राजनीतिमा सक्रिय भएको शर्माको भनाइ छ । रोल्पा जिल्ला सहइन्चार्ज भएकै बेला २०६१ मा खारा लडाइँमा आफूले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो । शर्मालाई पार्टीले दक्षिण ब्युरो, उपत्यका महिला इन्चार्जलगायतको जिम्मेवारी पनि दियो । तीन महिना सेन्टर जेल बस्दा छोरीलाई सँगै हुर्काउने अवसरसमेत पाएको स्मरण गर्नुभयो । 

शर्मासँग २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद्मा माओवादीका तर्फबाट ११ महिना संसद् सदस्य बनेर काम गरेको अनुभव रहेको छ ।  त्यसलगत्तै शर्माले संविधान सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. ३ मा उम्मेदवार बनेर पराजित हुनुभएको थियो । पराजित भए पनि शर्मा निरन्तर माओवादीको राजनीतिमा सक्रिय हुनुभयो । त्यसै सक्रियतालाई आधार मानेर बागलुङबाट महिलाको प्रतिनिधित्व हुने गरी प्रतिनिधि सभा सदस्यमा समानुपातिकबाट शर्मालाई पहिलेको माओवादी अहिलेको नेकपाले सांसद बनाएको छ । “डेढ वर्षकी छोरीलाई छोडेर युद्धमा होमिए, पार्टीका लागि निरन्तर लडेर अघि बढेर आए, अहिले सांसद बनेर संसद् भवन छिर्दा महिला, युवाको आवाजलाई प्रतिनिधित्व नगर्ने कुरै भएन,” शर्माले भन्नुभयो “सशक्त प्रतिपक्षको भूमिकामा काम गर्छु, संविधानको रक्षा र सङ्घीयताको मर्मलाई न्याय दिने गरी संसद्मा नीति निर्माणमा सहभागी हुन्छु ।”

राजनीतिमा सक्रिय भएरै पनि आफूले अध्ययनलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।  स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका शर्माले अहिले विद्यावारिधिको तयारीमा लाग्नुभएको छ । विकासले पछि परेको बागलुङको समस्यालाई केन्द्रमा पुर्‍याउने आफ्नो दायित्व रहेको बताउनुहुन्छ ।