• १७ वैशाख २०८३, बिहिबार

चिडियाखानामा कुकुरको आक्रमण, चार चित्तल मरे

blog

महेन्द्र पार्क चिडियाखानामा कुकुरको आक्रमणबाट मरेका चित्तल। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १७ गते ।
नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्कभित्र रहेको चिडियाखानामा बाहिरबाट छिरेका कुकुरले चित्तलको खोरमा आक्रमण गर्दा चार वटा चित्तल मरेका छन्।

बाहिरबाट पार्कभित्र छिरेका कुकुरले खोरमा पसेर आक्रमण गर्दा दुई पोथी, एक भाले र एक बच्चा चित्तल मरेको चिडियाखानाका चौकीदार हरि घरुकले बताउनुभयो।

उहाँका अनुसार पूर्वतर्फको पर्खालबाट करिब ६ वटा कुकुर एकैपटक हाम फालेर खोरभित्र पसेका थिए। “यसअघि पनि कुकुरले अष्ट्रिचलाई घाइते बनाएका थिए। पर्खाल कमजोर छ भनेर पहिले नै जानकारी गराएको थिएँ, तर सुनुवाइ भएन,” उहाँले भन्नुभयो।

चिडियाखानाको पर्खाल होचो हुनुका साथै ठाउँ–ठाउँमा जीर्ण भएकाले कुकुर तथा अन्य जनावर सजिलै भित्र प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ।

घटनापछि उपमहानगरपालिकाले विषय लुकाउने प्रयास गरेको स्थानीयको आरोप छ। चिडियाखाना नजिकका शकील अन्सारीका अनुसार मृत चित्तलको पोस्टमार्टम नगरी गाडिएको छ, जसले मृत्युको कारणबारे शङ्का उत्पन्न भएको छ। उहाँले पोस्टमार्टम आवश्यक रहेको बताउनुभयो।

तर उपमहानगरपालिकाले सामान्य मुचुल्का तयार गरी मृत चित्तल गाडिएको जनाएको छ।

स्थानीयका अनुसार चिडियाखानाको मर्मतका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि प्रभावकारी काम भएको देखिँदैन। अर्का स्थानीय सुरेश गुप्ताका अनुसार गत आर्थिक वर्षमा मर्मतका लागि १० लाख रुपियाँ विनियोजन भएको भनिए पनि काम भएको स्पष्ट जानकारी छैन।

करिब २० वर्षअघि बनाइएको पर्खाल र खोरका जालीहरू खिया लागेर जीर्ण भइसकेका छन्। हरेक वर्ष नियमित मर्मत आवश्यक रहेको स्थानीयले बताएका छन्।

पार्कभित्रका जनावरको उचित हेरचाह नहुँदा आलोचना बढेको छ। संरक्षण गर्न नसक्ने भए जनावरलाई जङ्गलमै छोड्नुपर्ने माग पनि स्थानीयले गरेका छन्।