प्यूठान, वैशाख १८ गते । प्युठान जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको दर्ता नवीकरणका लागि प्रक्रिया अघि बढेको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई मापदण्ड अनुसार नियमन गरी नवीकरण गर्ने प्रक्रिया अघि बढाएको हो ।
चालु अवस्थामा रहेका एम्बुलेन्सहरूको प्राविधिक जाँच गर्ने गरी तीन सदस्यीय प्राविधिक समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय र स्वास्थ्य कार्यालयबाट प्रतिनिधित्व हुने गरी समित गठन गरिएको छ । समितिले मूल्याङ्कन गरेर प्रतिवेदन पेस गर्ने समितिका सदस्यस्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत कौशलराज वैद्यले बताउनुभयो ।
एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार प्रत्येक दुई–दुई वर्षमा एम्बुलेन्स सञ्चालनको अनुमति नवीकरण गर्नुपर्ने प्रावधान छ । त्यसैगरी सञ्चालन भएको १० वर्षपछि चलाउने नपाइने नियम छ । त्यसपछि परिमार्जन गरेर पाँच वर्षसम्म बिरामी ओसारपसारको रूपमा चलाउन सकिने व्यवस्था छ । एम्बुलेन्स कुनै पनि सामाजिक सङ्घसंस्थाबाट चलाउन नपाईने निर्देशिकामा स्पष्ट उल्लेख भएको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सदस्य सचिव समेत रहनुभएका वैद्यले बताउनुभयो । जिल्लामा अझै पनि विभिन्न सामाजिक सङ्घ संस्थाबाट एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
एम्बुलेन्सलाई ‘क’ र ‘ख’ वर्गमा वर्गीकरण समेत गरिएको छ । आइसियुसहितको सुविधासम्पन्न एम्बलुेन्स ‘क’ वर्गमा पर्दछ । जिल्लामा चल्ने एम्बुलेन्स ‘ख’ वर्गको भएको वैद्यले बताउनुभयो । अक्सिजन सहिज औजार उपकरणसहितको व्यवस्था ‘ख’ वर्गको एम्बुलेन्समा हुनुपर्ने उहाँले बताउनुभयो । “प्राविधिक जाँच गरेर यो महिनाभित्र हामीले समितिमा प्रतिवेदन पेस गर्ने छौं,” उहाँले भन्नुभयो ।
जिल्लामा दर्ता गरेकाभन्दा बढी एम्बुलेन्स सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । “दर्ता भएको १७ वटा एम्बुलेन्स हो,” उहाँले भन्नुभयो, “प्युठान जिल्लामा २७ वटा एम्बुलेन्स चलेको देखिन्छ ।” जुन स्वास्थ्य संस्थाबाट एम्बुलेन्स सञ्चालनको अनुमति लिएको हो सोही ठाउँबाट चल्नुपर्ने व्यवस्था भए पनि जिल्ला अस्पतालमा मात्र भिड लाग्ने गरेको उहाँले बताउनुभयो ।