• १७ वैशाख २०८३, बिहिबार

एनसेललाई कर्पोरेट टी–१० लिग उपाधि

blog

उपाधि विजेता एनसेलका खेलाडी ।

काठमाडौँ, वैशाख १७ गते । टेक्सपायर कर्पोरेट टी–१० क्रिकेट लिगको उपाधि एनसेलले जितेको छ । 

काठमाडौँको तल्लो मुलपानी मैदानमा भएको फाइनलमा एनसेलले सुबिसुलाई डिएलएस प्रणालीका आधारमा ३८ रनले हराउँदै उपाधि जितेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको एनसेलले निर्धारित १० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३१ रन बनाएको थियो । एनसेलका लागि अनिल भण्डारीले सर्वाधिक ७४ र समाज पौडेलले ४८ रन बनाउनुभयो ।

एक सय ३२ रनको विजयी लक्ष्य पछ्याएको सुबिसुले आठ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन बनाउँदा वर्षले खेल रोकिएको थियो । सुबिसुका लागि दमन चन्दले २३ र विवेककुमार यादवले १७ रन बनाउनुभयो । बलिङमा एनसेलका निराजन परियार, हिमाल चन्द, विवेक कुमार यादव र सचिन्द्र ठाकुरले एक एक विकेट लिनुभयो ।

प्रतियोगितामा एनसेलका अनिल भण्डारी प्लेयर अफ दी म्याच बन्नुभयो । आइसिएफसी फाइनन्सका कप्तान सुरज तिमिल्सिना उत्कृष्ट खेलाडी चुनिनुभयो ।