अर्जुन काफ्ले
स्याङ्जा, वैशाख १८ गते । भीरकोट नगरपालिकामा रहेका ११ आधारभूत विद्यालय समायोजन तथा तह घटुवा गरिएको छ । तीमध्ये ९ वटा आधारभूत विद्यालयलाई समायोजन गरी बाल विकास केन्द्र मात्रै कायम गरिएको छ भने २ वटा विद्यालयको तह घटुवा गरिएको छ ।
नगर प्रवक्ता दिपेन्द्र केसीका अनुसार वडा नं. ३ र वडा नं. ७ का दुई–दुई वटा तथा वडा नं. ८ का पाँच वटा विद्यालय समायोजन गरिएको हो । वडा नं. ३ का जनविकास (रोजिखोला) र बटुकभैरव (बजारानी), वडा नं. ७ का बाघभैरवी (चिउरीखर्क) र कालिका (खिलुङ) विद्यालय समायोजन गरिएको छ ।
त्यसैगरी वडा नं. ८ का अमर (पखेरे), प्रगतिशील (शालिकोश), रत्नदेवीस्थान (खोरबार), सरस्वती (चिलाउनेखर्क) र देउराली भञ्ज्याङ (सिरूखर्क)विद्यालय समायोजन गरिएको हो ।
वडा नं. १ को रानीरह विद्यालयलाई लक्ष्मी आधारभूत विद्यालय (गजौंदी) मा समायोजन गरिएको छ भने वडा नं. ९ को भविष्य निर्माण विद्यालयलाई कक्षा घटुवा गरी १–३ सम्म कायम गरिएको छ ।
विद्यार्थी संख्या अत्यन्तै कम भएका विद्यालयहरू समायोजन वा कक्षा घटुवा गरिएको शिक्षा शाखा प्रमुख खड्गबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार भीरकोट नगरपालिकाको सामुदायिक विद्यालय समायोजन कार्यविधि–२०८२ बमोजिम कक्षा १–३ मा कम्तीमा ७ जना र कक्षा १–५ मा कम्तीमा १० जना विद्यार्थी नभएका विद्यालयहरू समायोजन गरिएको हो ।
सामुदायिक विद्यालय समायोजन कार्यदल, भीरकोटका अध्यक्ष तथा वडा नं. ४ का अध्यक्ष रत्नप्रकाश श्रेष्ठले १२ वटा विद्यालय समायोजनका लागि सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँले समायोजनअघि विद्यालयहरूको स्थलगत अनुगमन तथा सरोकारवालासँग विभिन्न चरणमा छलफल गरिएको बताउनुभयो ।
कार्यदल र शिक्षा समितिको सिफारिसका आधारमा कार्यपालिका बैठकले निर्णय गरिसकेको र शैक्षिक सत्र २०८३ देखि सो निर्णय कार्यान्वयन हुने शिक्षा शाखाले जनाएको छ ।
आगामी सोमबारसम्म समायोजन भएका विद्यालयका शिक्षक तथा कर्मचारीलाई माग र आवश्यकताका आधारमा पायक पर्ने विद्यालयमा खटाइने शिक्षा शाखा प्रमुख रानाले जानकारी दिनुभयो ।