खलङ्गा समाचारदाता
दार्चुला, वैशाख १८ गते । नेपालको दार्चुलामा मात्रै बसोवास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर गाउँमा बस्दै आएका सौका समुदायका बासिन्दा गर्मीयामको छ महिना गाउँमा र हिउँदमा सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्छन् ।
सौका समुदायको भाषामा बसाइँसराइ गर्नुलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । गत चैत अन्तिम सातादेखि बसाइसराइको तयारी गरिरहेको यो समुदायका मानिस भारतले बाटो प्रयोगको अनुमति नदिँदा खलङ्गामै अनुमति कुरेर बसेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत चैत ३० गते भौगोलिक विकटता र नेपालतर्फबाट हिँड्न सक्ने बाटो नरहेको भन्दै भारतीय बाटो प्रयोग गरी छाङरु र तिङ्कर जाने नागरिकलाई अनुमति दिलाई आवश्यक समन्वय र सहजीकरण गर्न भारतको धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्र पठाएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले व्यास गाउँपालिका–१ ले चैत २३ गते पठाएको पत्रका आधारमा छाङ्रु र तिङ्करका नागरिकलाई भारतीय बाटो प्रयोगका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पत्र पठाएको पुष्टि गर्नुभयो । तिङ्करका स्थानीय दानसिंह तिङ्करीका अनुसार भारतको बाटो हुँदै कुञ्चा सार्न आवश्यक पर्ने अनुमतिपत्रका लागि भारतीय एसडिएमको कार्यालयमा नेपालको बहुयात्रा अनुमतिपत्र पेस गरेको बताउनुभयो ।
भारतीय प्रशासनले सुरुमा अप्रिल २५ मा अनुमति दिने आश्वासन दिए पनि अहिले आएर मे १ मा दिने कुरा गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको बाटो भएर कुञ्चा लग्न सकिने अवस्था छैन । तम्बाकु र थी धिर क्षेत्रमा निकै जोखिम छ ।” अत्यधिक हिमपात भएपछि चिसो छल्न गत मङ्सिर पहिलो साता सौका समुदायको कुञ्चा सदरमुकाम खलङ्गा झरेको थियो ।
सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा रहेको तिङ्कर र छाङरुका मानिस भारतीय बाटो हुँदै पैदल कुञ्चा सर्ने गर्छन् । नेपालबाट तिङ्कर र छाङरु गाउँसम्म पुग्ने बाटो सजिलो छैन । उहाँले भन्नुभयो, “भारतीय बाटो प्रयोग गर्दा सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नु पर्छ । बाटो प्रयोगको अनुमति लिनुपर्नेलगायतका समस्या छ ।”
सरकारले गत माघ १४ गते व्यास घोडेटो बाटो निर्माणका लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेर घोडेटो बाटो निर्माण गरे पनि पहिरो र नदीले कटान गरेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।
छाङरु गाउँमा १२५ र तिङ्कर गाउँमा ७० परिवारको बसोवास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ ।
आफ्नै भाषा, संस्कृति, मौलिकता र पहिचान भएका आदिवासी जनजाति व्यासी सौका समुदायका मानिस यहाँको साबिकका गाविस व्यास, राप्ला र सितोलामा आदिमकालदेखि बसोवास गर्दै आइरहेका छन् ।
सौका समुदायका मानिसले ‘रं’ भाषा बोल्ने गर्छन् । वर्षभरिमा एक बाली मात्रै खेती हुने व्यासका स्थानीय उवा, नप्पल, फापर, आलुलगायतका अन्नबाली लगाउने गर्छन् ।