• १८ वैशाख २०८३, शुक्रबार

सिपयुक्त जनशक्ति उत्पादनमा अघि बढ्ने मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

अनिल पराजुली
हेटौँडा, वैशाख १८ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको आवश्यकता र श्रम बजारअनुसार सिपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेश सरकार प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । साथै वैदेशिक रोजगारीलाई सिपयुक्त, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै सम्मानजनक रोजगारीको वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले नेपालसहित विश्वभरका श्रमजीवी वर्गसँग ऐक्यबद्धता जनाउँदै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न श्रमिकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली श्रमजीवी जनसमुदायलाई समृद्धिको नयाँ युगमा पुर्‍याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ ।” मजदुर तथा श्रमजीवी वर्गको हितमा प्रदेश सरकार सधैँ अभिभावकको भूमिकामा रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले करिब १४० वर्षअघि सन् १८८६ मा अमेरिकाबाट सुरु भएको श्रमिक आन्दोलन स्मरण गर्दै सन् १८८९ मा पेरिसमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई मजदुर दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्नुभयो । त्यसयता विश्वभर मे दिवस श्रमिक एकता, सङ्घर्ष र अधिकारको प्रतीकका रूपमा मनाइँदै आएको छ । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अवधारणाले श्रमिक अधिकारको महत्त्व स्थापित गरेको उहाँले बताउनुभयो ।