• १८ वैशाख २०८३, शुक्रबार

हुम्लामा १० अति कुपोषित बालबालिका उपचारका लागि रिफर

blog

स्वास्थ्य चौकी संयोजक ढकालले अति कुपोषित बालबालिकाको पोषण परीक्षण गर्दै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, वैशाख १८ गते ।
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई जिल्ला बाहिरको सुविधा सम्पन्न अस्पतालस्थित पोषण पुनःस्थापना केन्द्रमा रिफर गरेको छ । जिल्लामै यस्तो सेवा उपलब्ध नभएको र घरमै उपचार गर्दा जोखिम हुने देखिएपछि उनीहरूलाई बाहिर पठाइएको हो ।

अति कुपोषित ती बालबालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र प्रदेश अस्पताल, सुर्खेतसँग समन्वय गरी त्यहाँका पोषण पुनःस्थापना केन्द्रमा उपचारका लागि सिफारिस गरिएको ताँजाकोट गाउँपालिका–२, मैला स्वास्थ्य चौकीका संयोजक धनराज ढकालले बताउनुभयो ।

गाउँपालिकाभरका बालबालिकाको पोषण लेखाजोखा गर्दा महिला स्वास्थ्य स्वयंसेविकाले अति कुपोषण (रातो कार्ड) सङ्केत गरेका बालबालिकाको पहिचान गरिएको थियो । पछि मैला स्वास्थ्य चौकीमा पुनः परीक्षण गर्दा पनि सोही अवस्था देखिएपछि जिल्ला बाहिर रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमै पनि यस्तो सेवा उपलब्ध नभएकाले जोखिम न्युनीकरणका लागि बाहिर पठाउने निर्णय गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सकारात्मक प्रतिक्रिया दिएको र प्रदेश अस्पतालसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

जिल्ला बाहिर पठाइने बालबालिकालाई अस्पतालसम्म पुर्‍याउने व्यवस्था ताँजाकोट गाउँपालिकाले गर्नेछ भने उपचार तथा पालनपोषणको जिम्मा सम्बन्धित अस्पतालका पोषण पुनःस्थापना केन्द्रले लिने छ ।

ती अति कुपोषित बालबालिका ६ महिनादेखि ३ वर्ष उमेर समूहका रहेका छन् । गाउँपालिकाका पाँचवटै वडामा कुपोषणका बालबालिका भेटिएका छन् । वडा अनुसार वडा नं. २ मा ३ जना, वडा नं. ३ मा ४ जना, वडा नं. ४ मा २ जना र वडा नं. ५ मा १ जना रहेका छन् ।

यसैबिच मध्यम कुपोषण (पहेँलो कार्ड) भएका बालबालिकाको पुनः परीक्षण गरी अभिभावकलाई पोषणसम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको तथा बालभिटा वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।