अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते । पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा आज शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होमस्टेका प्रतिनिधि तथा कलाकारहरू आ–आफ्ना जिल्लाका मौलिक पहिचान, संस्कृति र रैथाने स्वादसहित बन्दीपुर पुगेपछि यहाँको पर्यटकीय रौनक बढेको छ ।
नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा सुरु भएको मेलामा ग्रामीण जीवनशैली, उत्पादन प्रदर्शनी तथा मौलिक परिकारको स्वाद लिन छिमेकी जिल्लाबाट समेत पर्यटकहरूको घुइँचो लागेको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भन्नुभयो, “गण्डकीका विभिन्न जिल्लाबाट आउनुभएका पाहुना र पर्यटकहरूको सङ्गमले आज बन्दीपुर साँच्चिकै मिनी गण्डकी प्रदेश जस्तो देखिएको छ ।”
मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लोपोन्मुख कौरा, सोरठी र घाटु नाच प्रस्तुत गरिएको छ । ३० भन्दा बढी स्टलहरूमा ग्रामीण भेगका अर्गानिक उत्पादन तथा हस्तकलाका सामग्री प्रदर्शनमा राखिएका छन् । पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार यो मेलाले ग्रामीण होमस्टे र सहरका पर्यटन व्यवसायीबिच प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।
मेलाको अवसरमा वैशाख १९ गते बिहान १० बजे ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ विषयमा विशेष प्यानल छलफल आयोजना गरिने छ । सञ्चारकर्मी जमुना वर्षाले सहजीकरण गर्ने उक्त छलफलमा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, पर्यटनविद् आशुतोष प्रधान, डा. अनु कुमारी लामा र होमस्टे महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाशचन्द्र गुरुङ वक्ताका रूपमा सहभागी हुनुहुने छ ।
त्यसै दिन मध्यान्ह १२ः१५ बजे ‘कस्तो गाउँ ? कस्तो सहर !’ शीर्षकमा अर्को संवाद कार्यक्रम हुने छ । सो छलफलमा वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेत, टीकाराम सापकोटा, तारानाथ पहारी र सम्पादक आर. के. अदिप्त गिरीबिच बहस हुने छ, जसलाई पत्रकार अमृत सुवेदीले सहजीकरण गर्नुहुने छ ।
बन्दीपुरलाई काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरूको ‘हब’ का रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ । ढुङ्गाले छापिएका कलात्मक घर, विभिन्न जातजातिका संस्कृति र मनोरम हिमशृङ्खलाका दृश्यका लागि प्रख्यात बन्दीपुरमा यो मेलाले ग्रामीण पर्यटनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।