• १८ वैशाख २०८३, शुक्रबार

माधवनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

blog

नवनिर्मित माधवनारायण नगरपालिकाको प्रशासकीय भवन ।तस्बिर : प्रवीणकुमार शर्मा

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), वैशाख १८ गते । रौतहटको माधवनारायण नगरपालिकाले स्थापनाको आठ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित प्रशासनिक भवनको नगर प्रमुख वैजनाथप्रसाद यादवले उद्घाटन गर्नुभएको छ ।  

उद्घाटन कार्यक्रममा नगर प्रमुख यादवले निर्वाचनको समयमा जनतासँग गरिएका प्रतिबद्धता अनुरूप प्रशासकीय भवन निर्माण गरिएको बताउनुभयो । नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगदान रहने भएकाले आफू निर्वाचित भएदेखि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको प्रक्रिया थालेको बताउनुभयो । उहाँले नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीले छिटोछरितो  र सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले नयाँ भवनबाट जनताले परिवर्तनको अनुभूति हुने गरी कार्य गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । जनभावना अनुसार प्रचलित नियम कानुनको पूर्ण पालना गर्दै द्रुत रूपमा सेवा प्रवाहमा जोड दिन कर्मचारीलाई निर्देशन दिँदै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले प्रविधिको उच्चतम प्रयोग गरेर नतिजामुखी कार्य गर्न जोड दिनुभयो ।

सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत साझेदारीमा निर्माण भएको भवन बाल तथा वृद्धवृद्धामैत्री रहेको नगरपालिकाका वरिष्ठ इन्जिनियर नागेन्द्र राययादवले बताउनुभयो । शारीरिक रूपले अशक्त, वृद्ध, फरक क्षमता भएका व्यक्तिसमेतले  नगरपालिकाबाट सहज रूपमा सेवा लिऊन् भन्ने उद्देश्यले लिफ्टसहितको साढे तीन तले भवन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रशासकीय भवनको कुल लागत  ११  करोड ८८  लाख ९२ हजार २९४  रुपियाँ रहेको  छ । भवन निर्माणका लागि २०८० कात्तिक १९ गते चण्डी श्रीराम जेभी नुवाकोटले नगरपालिकासँग सम्झौता गरेको थियो  । भवनका लागि नगर प्रमुख यादवले करिब एक करोड मूल्य बराबरको पाँच कट्ठा जग्गा निःशुल्क रूपमा नगरपालिकालाई दान गर्नुभएको थियो ।