जयकृष्ण यादव
इनरुवा, वैशाख १७ गते । समाजसेवा र श्रमदान गर्ने अभियानमा रहनुभएकी अभियानकर्मी अम्बिकादेवी सङ्ग्रौला प्रतिनिधि सभामा समानुपातिकतर्फ सासंद बन्नुभएको छ । देशको कानुन निर्माण गर्ने सर्वोच्च थलो संसद्मा पुग्ने र महिलाको आवाज बोल्ने, महिलामैत्री कानुन निर्माणमा योगदान गर्ने साथै देश र जनताको हितमा काम गर्ने सोच राखेर उहाँ २०८२ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीबाट (समानुपातिक प्रतिनिधि सभा सदस्य) बन्नुभएको हो । देशमा विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासन, सबै क्षेत्रमा पारदर्शितासहितको सुशासन र विकासका लागि सोच राख्ने सङ्ग्रौला संसद्को यात्रामा प्रवेश गर्न पाउनुभएकोमा खुसी हुनुहुन्छ ।
उहाँ समाजसेवामा दुई दशक लगाउनुभएको हो । उहाँले राजनीतिमा प्रवेश गर्नु अगाडि सामाजिक कार्य गर्नुभयो । समाजसेवासँगै आफ्नो जीविकोर्पाजका लागि १८ वर्षसम्म व्यापार व्यवसाय गर्नुभएकोमा २०७९ सालको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको स्वतन्त्रतर्फका मेयरका उम्मेदवार हर्कराज राईको पक्षमा भोट माग्नेदेखि श्रमदान अभियानमा सव्रिmय हुनुभयो । उहाँले दुई दशकको समाजसेवा र १८ वर्षको व्यासायिक अनुभवलाई आफू धरानको मतदाता भएको हिसाबले सही प्रयोग गर्नुभयो । सोही क्रममा २०८२ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित राईको नेतृत्वमा खुलेको श्रम संस्कृति पार्टीबाट औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गर्नुभयो ।
उहाँले समाजेसवामा स्वतन्त्र दिदीबहिनी समूहको पहिलो वर्ष सहसचिव, दोस्रो पटक श्रम संस्कृति दिदीबहिनी समूहको सचिव हुनुभयो । त्यसपछि पार्टीको स्थापना हुँदा श्रम संस्कृति पार्टीको संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्य र सोही पार्टीबाटका तर्फबाट खस आर्य क्लस्टरबाट चुनिएर १ नम्बरको श्रमदाता भएकाले सांसद बन्न पाएको बताउनुभयो ।
उहाँले नेपाली समाजमा भएका अनेकौँ किसिमका घटना, लैङ्गिक तथा घरेलु हिंसा, मानव बेचबिखन, ढिलासुस्तीविरुद्धमा आवाज उठाउँदै आएका सवाललाई सार्थक रूपमा कार्यान्वयन गर्न संसद्मा भूमिका निर्वाह गर्ने बताउँदै आउनुभएको छ । विभिन्न निकाय तथा विषयमा हुने गरेका बिचौलियाको प्रभाव अनि त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुःख पाएको विषयमा आफूले इमानदारीपूर्वक आवाज उठाउने, जनतालाई राहत र न्यायको महसुस हुने गरी काम गर्ने सोचका साथ अगाडि बढ्नुभएको छ । सामाजिक कुप्रथा, कुरीति, बेथितिसहित घरेलु तथा लैङ्गिक हिंसाविरुद्धमा आवाज उठाउँदै, समान कामको समान ज्याला, महिलाको हकहितको सवाल, नागरिक सुरक्षासहित महिलामैत्री कानुन बनाउने र पीडित पक्षलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न र आवाज उठाउन आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “संसद्मा नीति, बजेट र योजना पास गर्दा समग्र नेपालीसहित त्यसमा महिलालाई कसरी बढीभन्दा बढी हितकर र प्रभावकारी हुने गरी ल्याउन सकिन्छ ? भन्ने कुरालाई ध्यानमा राखेर म संसद्मा प्रस्तुत हुन्छु ।”
उहाँ थप्नुहुन्छ, “आफू धराने मतदाता भएको नाताले तत्कालीन २०७९ सालको स्थानीय तहको निर्वाचनमा लौरो चुनाव लिएर चुनावी मैदानमा उत्रिनुभएको इतिहास र एक सच्चा इमानदार देशभक्त, कर्मठ, निडर नेता हर्क साम्पाङलाई २० हजार ८२१ मत दिएर जितायौँ । त्यसपश्चात् उहाँले मेयर पदमा रहेर स्वाधीनताको पक्षमा, गरिब दुःखी निमुखा जनताको पक्षमा काम गर्दै र जनताको जनप्रिय बन्नुभयो । उपमहानगरपालिकाको मेयर पदमा रहेर श्रमदानको अभियान चलाउदा देशभर चर्चा भएको र श्रमदान गर्नेहरू आएको कुराले आफूलाई झनै प्रेरणा मिलयो ।” श्रमदानले अर्थतन्त्रमा ठुलो महìव राख्ने भएकाले आफू श्रमदाताको नाताले हर्क साम्पाङले चलाउनुभएको अभियानमा जोडिएर आफू इमानदार देशभक्त भएर काम गरेको बताउनुभयो । श्रमदाता भएको नाताले उहाँले चलाएका हरेक अभियान श्रमदान अभियान, सरसफाइ अभियान, सुधारका अभियानमा गहन भूमिका निर्वाह गरेकाले संसद् बनाउनुभएको छ । उहाँले लामो समयको अरू राजनीतिक दलका रबैया र सांसद जितेर गएपछि फर्केर नआउने गुनासो सुनेर वाक्कदिक्क भएकाले चुनावमा आफूले त्यसलाई भङ्ग गर्ने जनताको संसद् र जनताकै घरदैलोमा रहेर सेवा गर्ने गरी आएको बताउनुभयो ।
पुरानो बेथिति र गलत प्रवृत्तिको अन्त्य गर्न श्रम संस्कृतिको विकास गर्न, सशासन कायम गर्न आएको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष हर्क राईले धरानमा सुरु गर्नुभएको श्रमदान अभियानमा योगदान र सफल श्रमदाता भएकाले सांसद बन्न पाएको बताउनुभयो । उहाँले राजनीतिमा प्रवेश गरेदेखि संसद्सम्म महिलाको अधिकार, हकहितको विषय, लैङ्गिक विभेद, छुवाछुतको अन्त्य, घरेलु हिंसा रोकथाम तथा न्यूनीकरण प्राथमिकतामा राख्नुभएको छ ।