• १८ वैशाख २०८३, शुक्रबार

रामग्राममा बुद्ध जयन्ती, साइकल र्‍याली र फुड फेस्टिभल

blog

रामग्राम स्तूप ।

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १८ गते ।
भगवान् गौतम बुद्धको मावली तथा पवित्र अस्थिधातु रहेको ऐतिहासिक स्थल पश्चिम नवलपरासीको रामग्राममा यस वर्षको बुद्ध जयन्ती विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । पहिले लुम्बिनीमा मात्र केन्द्रित हुने बुद्ध जयन्ती पछिल्ला वर्षहरूमा रामग्राममा पनि मनाउन थालिएको र यसले निरन्तरता पाएको छ ।

बुद्ध जयन्तीलाई उत्सवका रूपमा मनाउँदै रामग्रामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पहिचान बढाउने र यसलाई बुद्ध जयन्ती मनाइने अर्को महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

रामग्राम नगरपालिकाका अनुसार बुद्धको मावली क्षेत्र पण्डितपुरबाट शुक्रबार बिहान साइकल र्‍याली आयोजना गरिएको छ । यसैगरी, साँझ परासी बजारमा फुड फेस्टिभलको कार्यक्रम राखिएको छ ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्रामको ऐतिहासिक र धार्मिक महत्व उजागर गर्न यस्ता उत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रामग्राम, पण्डितपुर र अनौमाघाट जस्ता बुद्धसँग सम्बन्धित स्थलहरूको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि हामी निरन्तर लागिरहेका छौँ । यस अभियानले हाम्रो क्षेत्रलाई बौद्ध पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न ठुलो सहयोग पुग्नेछ ।”

रामग्राम, पण्डितपुर र अनौमाघाट जस्ता बुद्धसँग सम्बन्धित स्थलहरूको विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि स्थानीय स्तरबाट निरन्तर पहल भइरहेको छ । यस अभियानले यस क्षेत्रलाई बौद्ध पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।