चित्रकुमार मिजार
सिन्धुपाल्चोक, वैशाख १७ गते । २७ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको बलेफी गाउँपालिका–८ लामोसाँघुस्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग पुनः सञ्चालन कहिले होला भन्ने विषयमा विभिन्न अड्कलहरू भइरहेका छन्। विगतका सरकारहरूले पनि उद्योग पुनः सञ्चालनका आश्वासन दिएका थिए भने वर्तमान सरकारले पनि पुनः सञ्चालनका लागि प्रयास भइरहेको जनाएको छ।
वि.सं. २०३५ चैत २५ गते स्थापना भई सञ्चालनमा आएको उक्त उद्योग २०५५ मङ्सिर २५ गतेदेखि पूर्ण रूपमा बन्द छ। करिब तीन अर्ब ५९ करोड रुपियाँ लागतमा स्थापना भएको यो उद्योग एसियाकै ठुलो म्याग्नेसाइट उद्योगका रूपमा चिनिन्छ। लामोसाँघुस्थित तीन सय ६४ रोपनी जग्गामा फैलिएको उद्योग र दोलखाको भीमेश्वर नगरपालिका–९ खरीढुंगामा रहेको पाँच हजार दुई सय रोपनी खानी क्षेत्रसहित कुल पाँच हजार पाँच सय ६६ रोपनी जग्गा अहिले अलपत्र अवस्थामा रहेको छ।
वि.सं. २०५४ सालसम्म कठिनाइका बाबजुद सञ्चालनमा रहेको उद्योग त्यसपछि पूर्ण रूपमा बन्द भएको हो। त्यसयता संघीयदेखि स्थानीय सरकारसम्मले पुनः सञ्चालनका लागि मिति तय गर्न सकेका छैनन्। पूर्व सरकारदेखि वर्तमान सरकारसम्मले यसलाई केवल नाराका रूपमा उठाउँदै आएको स्थानीयको गुनासो छ।
बलेफी गाउँपालिका–८ का अध्यक्ष रमेश श्रेष्ठका अनुसार विभिन्न सरकारका मन्त्री र सांसदहरूले अनुगमन तथा प्रतिवेदन तयार गर्नेबाहेक ठोस काम अघि बढ्न सकेको छैन।
उद्योगका भौतिक संरचनाहरू जीर्ण अवस्थामा पुगेका छन्। म्याग्नेसाइट उत्पादनका मेसिन तथा उपकरणहरू प्रयोगविहीन बनेका छन्। डीबीएम भट्टी रहेको स्थान भासिँदै गएको छ भने पदार्थ संकलन केन्द्र र प्रयोगशाला पनि जीर्ण छन्। ५१ वटा कर्मचारी क्वार्टर बेवारिसे अवस्थामा छन्। केही भवन सशस्त्र प्रहरी र स्थानीय संघसंस्थाले प्रयोग गरिरहेका छन्।
खरीढुंगादेखि लामोसाँघुसम्मको १०.५ किलोमिटर रोपवे पनि बिग्रिएर जीर्ण बनेको छ। रोपवेका डिब्बा, तार र पोल खस्ने अवस्थामा पुगेका छन्। ती संरचना खस्दा जनधनको ठुलो क्षति हुने जोखिम रहेको त्रिपुरासुन्दरी गाउँपालिका–तौथलीका विकास श्रेष्ठले बताउनुभयो। रोपवेका ८७ टावर समेत जोखिम अवस्थामा रहेका छन्।
उद्योग बन्द भएपछि एक हजारभन्दा बढी कामदार बेरोजगार भएका थिए। तर हालसम्म पनि १८ जना कर्मचारीलाई वार्षिक करिब ६१ लाख रुपियाँ तलब–भत्ता दिइँदै आएको छ। उद्योग परिसरका बहुमूल्य सामग्री चोरी तथा बिक्री भइसकेका छन् भने बाँकी संरचना खिया लागेर नष्ट हुँदै छन्।
नेपाल सरकारको ८३.३३ प्रतिशत र ओरिसा इन्डस्ट्रिज तथा खेतान समूहको १६.६७ प्रतिशत लगानी रहेको यस उद्योगले राज्यलाई निरन्तर आर्थिक नोक्सान पुर्याइरहेको छ। अर्थ मन्त्रालयको सार्वजनिक संस्थान वार्षिक स्थिति समीक्षा २०८२ अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्र उद्योगले ५१ करोड ७९ लाख रुपियाँ घाटा व्यहोरेको छ। हालसम्म उद्योग बन्द हुँदा राज्यलाई करिब पाँच अर्ब १६ करोड रुपियाँ नोक्सान भएको सरकारी तथ्याङ्क छ।
उद्योगको खुद सम्पत्ति चार अर्ब ७१ करोड ५० लाख रुपियाँ ऋणात्मक रहेको छ। साथै ८१ करोड ९५ लाख रुपियाँ साँवा र एक अर्ब ६८ करोड ३५ लाख रुपियाँ ब्याज नेपाल सरकारलाई तिर्न बाँकी छ।
उद्योग स्थापनाको प्रारम्भमा नेपाल सरकारको ५० प्रतिशत र निजी क्षेत्रको ५० प्रतिशत लगानी थियो। पछि २०५० सालमा अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ५० करोड कायम गरिएको थियो भने हाल चुक्ता पुँजी ४५ करोड रहेको छ।
सञ्चालक समिति सदस्य दिनेशराज भट्टराईका अनुसार विभिन्न परीक्षणका क्रममा गुणस्तरीय डीबीएम उत्पादन हुन नसकेपछि उद्योग बन्द हुन पुगेको हो। सरकारको बेवास्ता पनि प्रमुख कारण रहेको उहाँको भनाइ छ।
उद्योग बन्द भएपछि जग्गा अतिक्रमणसमेत बढ्दै गएको छ। विश्व बजारमा म्याग्नेसाइटको माग उच्च भए पनि उद्योग सञ्चालनमा नआउँदा ठुलो अवसर गुमिरहेको छ। यस उद्योगबाट कृषि, पशुपालन, खाद्य उद्योग तथा निर्माण सामग्रीका लागि आवश्यक ‘क’ श्रेणीको म्याग्नेसाइट उत्पादन हुँदै आएको थियो।
खानी तथा भूगर्भ विभागका अनुसार यो खानीले २५० वर्षसम्म उत्पादन दिन सक्ने क्षमता राख्दछ। अष्ट्रियाको आरसीई कम्पनीले २०४५ देखि २०४९ सम्म परीक्षण उत्पादन गरे पनि गुणस्तरीय नतिजा नआएपछि काम रोकिएको थियो। सह–उत्पादनका रूपमा २०४३ देखि २०७१ सालसम्म टाल्क पाउडर उत्पादन भए पनि पछि त्यो पनि बन्द भएको छ।