• १७ वैशाख २०८३, बिहिबार

यसरी बन्यो विश्व प्रसिद्ध चलचित्र “दी गडफादर”

blog

चलचित्र निर्माण गर्ने संस्था पारामाउन्ट पिक्चर कम्पनीका अंशियार मार्लन ब्रान्डोलाई शीर्ष भूमिकामा लिने पक्षमा थिएनन् तर निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले भने कुनै हालतमा मार्लन ब्रान्डोलाई छोड्न चाहेनन् ।

टेनेसी विलियम्स को सन् १९५१ को नाटक ‘ए स्ट्रिटकार नेम्ड डिजायर’ मा स्टेनली कोवाल्स्की पात्रका रूपमा गरेकोमा सशक्त  अभिनयबाट स्थापित भएका अभिनेता हुन् मार्लन ब्रान्डो । उनलाई हलिवुडका एक सशक्त अभिनेता मानिन्छ । 

ब्रान्डोलाई मेथड एक्टिङ प्रयोग गर्ने अभिनेताका रूपमा पनि लिइन्छ । उनको यो प्रयासलाई व्यापक मान्यता र सम्मानसमेत हासिल भयो । सन् १९७२  मार्च १४ मा प्रिमियर र त्यसको १० दिनपछि मार्च २४ मा सार्वजनिक प्रदर्शन थालिएको ‘दी गडफादर’ चलचित्रमा उनले अपराध जगत्का बादशाह  बिटो कोरलेओनको चरित्रमा सशक्त अभिनय गरेर ख्याति कमाए । 

‘दी गडफादर’ प्रदर्शन भएको ५० वर्ष पूरा भइसकेको छ । सन् २००४ जुलाई १ मा ८० वर्षको उमेरमा ब्रान्डोको देहावसान भयो । उनको सशक्त एवं सजीव अभिनयका लागि सदैव स्मरणीय चलचित्र ‘दप् गडफादर’ को निर्माण अत्यन्त कठिन परिस्थितिमा सम्पन्न भएको थियो ।

यो चलचित्र निर्माण योजना बनिरहँदा यसमा शीर्ष भूमिका निर्वाह गर्ने अभिनेता छनोटको विषयमा ज्यादै ठुलो बहस भएको थियो । बहस मात्र नभई विवादको भँगालो नै फुट्यो । चलचित्र निर्माण गर्ने संस्था पारामाउन्ट पिक्चर कम्पनीका अंशियार मार्लन ब्रान्डोलाई शीर्ष भूमिकामा लिने पक्षमा थिएनन् तर निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले भने कुनै हालतमा मार्लन ब्रान्डोलाई छोड्न चाहेनन् । 

यहाँ रोचक कुरा त के छ भने सुरुमा निर्देशक कोपोला यो चलचित्र निर्देशन नगर्ने पक्षमा थिए । पारामाउन्ट कम्पनीले पटक पटक आग्रह गर्दा पनि ‘दी गडफादर’ को निर्देशनको अभिभारा लिन नमानेका कोपोलाले अन्ततः चलचित्रको लाभबाट अंश रकम लिने सर्तमा मात्र निर्देशन गर्न सहमत भए । 

त्यतिबेला ठुलो ऋण भारमा दबिएका निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले आफूलाई आर्थिक रूपमा राहत दिलाउनका लागि पारिश्रमिकमा लाभांशको सर्त राखेका थिए । कोपोलाको यो सर्त अनुसार उनलाई लाभको छ प्रतिशत रकम दिने तय गरियो भने पछि यस चलचित्रले करिब १५ करोड डलर आर्जन गर्दा उनको भागमा करिब ७० लाख डलर पर्न गयो । 

यसरी आफू ऋणभारबाट मुक्त हुन मात्र निर्देशक बन्न पुगेका फ्रान्सिस फोर्ड कोपोलाले ‘दी गडफादर’ को शीर्ष भूमिकामा मार्लन ब्रान्डोलाई लिनुपर्ने अडान लिएपछि पारामाउन्ट कम्पनीले एक पटक त निर्देशक नै परिवर्तन गर्ने सोचाइसमेत बनाइएको थियो तर शीर्ष भूमिका निर्वाह गर्ने अभिनेताको छनोट स्क्रिन टेस्टका माध्यमबाट गर्ने कुरामा सहमति भएपछि निर्देशन कोपोलाको हातमै ‘दी गडफादर’ रहन गयो । 

स्क्रिन टेस्टमा हलिउडका विख्यात अभिनेता सर लरेन्स ओलिभर र एन्थोनी क्विनलगायत सयभन्दा बढी नयाँ पुराना अभिनेतालाई ‘दी गडफादर’ को शीर्ष पात्र माफिया डन विटो कोर्लियनका रूपमा परीक्षण गरियो । यसमा मार्लन ब्रान्डो अब्बल ठहरिए । उनी  इटालियाली जस्तो देखिने भएकाले उनलाई चयन गरिएको थियो । अपराध जगत्मा वंश नै पेसागत रूपमा माफिया भएको  परिवारको कथामा आधारित ‘दी गडफादर’ मा मार्लन ब्रान्डो परिवार प्रमुख अर्थात् माफिया सरदारको भूमिकामा थिए । 

अभिनेता ब्रान्डोको सजीव अभिनयका कारण अति नै चर्चित ‘दी गडफादर’ लाई अपराध जगत्प्रति आकृष्ट पार्न सक्ने चलचित्र भन्दै केही प्रहरी परिवारले प्रदर्शन रोक्नुपर्ने कुरासमेत उठाए भने केही प्रहरी परिवारले यस चलचित्रको अवलोकनले माफिया सङ्गठनबारे अझ बढी जानकारी हासिल हुन सक्ने दाबी गरेका थिए । यति मात्र नभई अपराध जगत्मा लिप्त माफिया परिवारका सदस्यले समेत ‘दी गडफादर’ को शैली अपनाई अपराध जगत्मा रजाइँ गर्ने योजना बुन्न थालेको पनि देखियो । 

सन् १९७० को दशकमा निर्माण प्रारम्भ गरिएको यस चलचित्रको निर्माण सन् १९४० को दशकको परिवेशमा गर्ने सोचाइ अनुरूप तत्कालीन पुराना मोडलका ८० वटा गाडी सङ्ग्रह गरियो । यी गाडीको ध्वनि प्रभाव दी सान फ्रान्सिस्को सङ्ग्रहालयबाट लिइएको थियो । वेशभूषाका लागि ठुलो अनुसन्धान र अध्ययन गरियो । यसरी व्यापक तयारीका साथ प्रारम्भ भएको सुटिङ पनि तीन हप्ता पुग्दा नपुग्दै निर्देशक कोपोलालाई चलचित्रले गलत रूप लिने आशङ्का भयो र निर्माण स्थगित गरियो ।  

मारिया पुजोद्वारा लिखित उपन्यासमा आधारित यस चलचित्रका लागि पटकथा लेखनमा निर्देशक कोपोला र मारिया पुजो स्वयं पनि जुटेका थिए । कोपोलाले आफैँ पटकथा लेखेको भए पनि पटकथा नै ढङ्गबाट तयार हुन नसकेको जस्तो महसुस गरिएपछि निर्माता र निर्देशकबिच मनोमालिन्य सुरु भयो । यसैबिच छायाकारले अभिनेतृ डायने किटनको शारीरिक बनोट नराम्रो भएकाले पर्दामा राम्रो प्रभाव नपर्ने कुरा निकालेपछि विवाद चर्केर झगडाको स्थिति पनि आयो ।

त्यतिबेला सिनेमाटोग्राफर गोर्डन विलिसको पारामाउन्ट पिक्चर्सका अंशियारहरूसित राम्रो सम्बन्ध थियो । उनले अभिनेतृ नै फेर्नुपर्ने अडान लिए । सिनेमाटोग्राफरले समेत अभिनेतृ फेर्नुपर्ने कुरामा अडान लिएपछि सुटिङ अगाडि बढाउन नसक्ने अवस्था सिर्जना हुन पुग्यो । 

अनेक विवादबिच सुटिङ सम्पन्न भइसकेका भागको एक पटक अवलोकन गर्ने र त्यसछि मात्र विवादका विषयमा छलफल गर्ने निर्णय गरियो । सबै यो कुरामा सहमत भए । अनि सबैले बसेर  निर्माण भएका भाग हेरे । त्यसको परिणाम खासै सुखद देखिएन । निर्देशक स्वयम्लगायत निर्माण संस्थाका सदस्यलाई समेत चलचित्रको प्रस्तुत रूप चित्त नबुझेपछि एकातिर निर्देशक कोपोला केही भागको पुनः सुटिङ गर्नुपर्ने कुरामा जोड दिन थाले भने अर्कोतिर पारामाउन्ट कम्पनी निर्देशक नै फेर्ने निर्णयमा पुगे ।

त्यसका लागि एरोम इभाकियान नामका  निर्देशकसित सम्पर्क पनि राखियो तर उनले  मानेनन् । त्यसपछि  पारामाउन्ट पिक्चर्सले मालेन ब्रान्डोलाई कायम राखेर  इलिया कजान नामका निर्देशकलाई चलचित्र पूरा गर्ने अभिभारा दिने मनसाय बनाए तर  अभिनेता ब्रान्डो  कोपोलाको पक्षमा उभिए र  कोपोला नभए आफू पनि चलचित्रमा नरहने निर्णय उनले सुनाए । त्यसपछि बाध्य भएर निर्देशक परिवर्तन गर्ने  विचार नै त्याग्नु प¥यो । 

यस्तै खालका विवादबिच चलचित्र निर्माण पूरा त भयो तर सोचे जस्तो बनेन भन्ने कुरामा पारामाउन्ट पिक्चर्सलाई महसुस भयो । अनि फेरि सम्पादन गर्न थालियो । धेरैपटक  सम्पादन गरियो ।  । निर्देशक कोपोलाले पटकैपिच्छे नयाँ रूप दिएर चलचित्र हेरे । यो क्रम चलचित्र  सार्वजनिक हुनुअगाडिसम्म जारी नै रह्यो  । 

चलचित्र प्रिमियर गरेको दिनसम्म पनि निर्माताको अनुहारमा खुसी देखिँदैन थियो । निर्माताको विचारमा  निर्देशकले चलचित्रप्रति न्याय गरेनन् । त्यसैले चलचित्रलाई सुरुमा मार्च १४ मा म्यान हाटनका पाँच चलचित्र हलमा प्रिमियर गरियो तर जब यो चलचित्र  सार्वजनिक भयो तब विस्तारै यसले चर्चा कमाउन थाल्यो ।

ती पाँच हलबाट पहिलो एक हप्तामै यसले साढे चार लाख डलर कमाइ गरेर सुखद सङ्केत दियो । त्यसपछि मात्रै संसारका ३६५ हलमा एकै पटक यसलाई सार्वजनिक गरियो । अनि  ‘दी गडफादर’ ले पहिलो हप्ताभित्र ८० लाख डलर, दोस्रो  हप्तामा ६० लाख डलर, तेस्रो हप्तामा ५० लाख डलर र चौथो हप्तामा  ३० लाख डलर कमाएर तहल्का मच्चायो । यसरी यस चलचित्रले प्रदर्शनको छ महिनाभित्र एक हजार पाँच सय करोड डलर कमाइ गरेको थियो ।  

–युवामञ्च