विजयकुमार साह
ढल्केबर, वैशाख १७ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले गत वैशाख ३ गते बस्ती खाली गर्न सूचना जारी गरेपछि सो बस्तीका बासिन्दा त्रासमा रहेका हुन् ।
तीन बिघामा फैलिएको बस्तीमा विगत १२ वर्षदेखि करिब ४५ परिवार कच्ची घर निर्माण गरी बसोबास गर्दै आएका छन् । अचानक आएको सूचनाले सुकुमवासी परिवार विस्थापित हुने चिन्तामा परेको स्थानीयको भनाइ छ । बस्तीमा पासवान, मण्डल, साह, विक तथा मुस्लिम समुदायका विपन्न परिवारको बसोबास रहेको छ ।
स्थानीय प्रमोद साहले वैदेशिक रोजगारीका कारण ऋणको बोझले पुख्र्यौली घरजग्गा बेचेपछि सुकुमवासी बन्नु परेको पीडा व्यक्त गर्नुभयो । साबिकको घर महोत्तरीको रतौली भएको बताउँदै उहाँले भन्नुभयो, “दुई पटक वैदेशिक रोजगारीमा गएँ । पहिलो पटक मलेसिया गएँ । कम्पनी नै बन्द भयो । दोस्रो पटक कतारमा बिरामी परेर फर्किनु प¥यो ।” वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण तिर्न बुवाले दिएको पाँच कट्ठा जमिन बेच्नु परेको छ । साहले घरजग्गा बेचेपछि यहाँ बस्न थालेको बताउँदै अहिले फेरि हट्नुपर्ने अवस्थाले परिवारको भविष्य अन्योलमा परेको उहाँको भनाइ छ ।
अर्का स्थानीय धनेशकुमार साहले यो स्थान पहिले जङ्गल र झाडीले भरिएको बताउँदै आफूहरूले नै सफा गरेर बसोबास सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मेहनत गरेर बस्नलायक बनायौँ । १२ वर्षसम्म कसैले केही भनेन । अहिले आएर एक्कासि हट्न भन्दा हामी कहाँ जाने ?”
उहाँले आफूहरूका लागि वैकल्पिक बसोबास वा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गर्नुभयो । बस्तीकी लक्ष्मी विकले लहानबाट आफन्तको सल्लाहमा यहाँ आएर बस्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समय यहाँ बसोबास गरेकाले मन पनि यहीँ जोडिएको छ । अब एक्कासि कहाँ जाने भन्ने चिन्ता बढेको छ ।”
त्यस्तै प्रमिला देवीले आफ्नो १० जनाको परिवार यही बस्तीमा आश्रित रहेको बताउँदै सरकारसँग पुनर्वासको माग गर्नुभयो । उहाँ भन्नुहुन्छ, “हामी गरिब मान्छेको बस्ने ठाउँ छैन । यहाँबाट हटाएपछि बालबच्चासहित कहाँ जाने ? सरकारले विकल्प दिनु पर्छ ।”
यहाँको समस्या जनप्रतिनिधिसमक्ष राखेको बताउँदै स्थानीयले चित्तबुझ्दो आश्वासन नदिएको उहाँले गुनासो गर्नुभएको छ । नगरप्रमुख जितनारायण यादव र वडाध्यक्षले बस्ती खाली गराएपछि विकल्प खोज्ने बताउँदै आउनुभएको छ । सुकुमवासीले बिनाविकल्प नहटाउन र हटाउनै परे उचित क्षतिपूर्ति वा पुनर्वासको सुनिश्चित गर्न माग गरेका छन् । बर्सौंदेखि बसोबास गर्दै आएको थातथलोबाट एक्कासि विस्थापित हुनुपर्ने अवस्थाले सबै चिन्तित देखिएका छन् ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रन्धिरकुमार साहले सरकारी जग्गामा भएको अवैध अतिव्रmमण हटाउने अभियान अन्तर्गत सूचना जारी गरिएको बताउनुभयो । उहाँले कार्यालयमातहतको जमिन अतिक्रमण गरी बसेकालाई हटाउन लागिएको स्पष्ट पार्नुभयो ।