यतिबेला मध्यपूर्व फेरि युद्धको दल दलमा फसेको छ । आफैँमा सधैँ कुनै न कुनै देश आन्तरिक वा छिमेकसँगको मनमुटावमै रहने यहाँका राष्ट्रहरू अहिले नचाहेरै पनि युद्धको छायामा जेलिनु परेको छ । त्यसमा पनि अझ अमेरिका जस्ता शक्ति राष्ट्र नै प्रत्यक्ष युद्धमा सामेल भएपछि मध्यपूर्व र एसिया प्रशान्त अहिले निकै अशान्त बनेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेपछि यो युद्धले शान्तसँग बसिरहेका यहाँका अरू राष्ट्रलाई पनि जबर्जस्त त्यो युद्धको हिस्सा बनायो । खाडीका कतिपय राष्ट्र आफूहरूले युद्ध नचाहँदा नचाहँदै पनि युद्धको सिकार हुनु प¥यो । तथापि खाडीका कुनै पनि राष्ट्रले इरानमाथि जवाफी कारबाही गरेनन् बरु आफू रक्षात्मक मात्रै भएर उभिए । समग्रमा यो युद्धले अहिले सारा विश्वलाई नै प्रभावित गरिरहेको छ । त्यसमा पनि नेपाल जस्ता आयातमा मात्रै निर्भर रहेको देशका लागि आपूर्ति चक्रको एउटा ठुलो मार खेप्नु परिरहेको छ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको पहिलो प्रयासमै इरानका तत्कालीन सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनी र उनका केही पारिवारिक सदस्यसहित कैयौँ उच्च सरकारी अधिकारीसमेत मारिए । इरानमाथि आक्रमण गर्ने राष्ट्रहरूका लागि युद्धको यो सबैभन्दा ठुलो सफलता रह्यो । बाँकी विश्वका लागि यो एउटा भयानक र अत्यासपूर्ण परिस्थिति बन्यो । एकातिर युद्धको त्यो त्रास अनि त्यसका कारण खलबलिएको विश्व अर्थतन्त्र । आपूर्तिचक्रको एउटामात्रै सानो अणुको स्थिति तलमाथि भयो भने मात्रै सारा विश्वबजारमा हलचल पैदा भइहाल्छ । यो युद्धका कारण इरानको क्षेत्रमा पर्ने स्ट्रिट अफ होर्मुज अवरुद्ध भयो । विश्व तेल बजारको लगभग २० प्रतिशत जति आयातको यो बाटो इरानको क्षेत्रमा पर्छ । एउटा साँघुरो सामुद्रिक खोँचमा आफ्नो अधिकार प्रयोग गर्दै इरानले त्यो बाटोमा अवरुद्ध गरिरह्यो र त्यसको प्रभावले विश्वबजारमै तेलको मूल्यमा उछाल आयो । खाडी र एसियाका कैयौँ राष्ट्रका लागि इन्धन आपूर्तिको यो सबैभन्दा मुख्य र महत्वपूर्ण बाटो हो । त्यसमा पनि नेपाल जस्ता देश इन्धनका लागि पूरै आयातमै निर्भर छन् । अर्को वैकल्पिक बाटो नहुँदा नेपाल जस्ता देशहरूलाई तेल निर्यात गर्ने देशले पनि इन्धनको समस्या खेप्नु परेको छ ।
यद्यपि यो युद्ध नयाँ होइन । केही परिस्थिति बदलिएका होलान्, केही वस्तुस्थिति फेरिएका होलान्, युद्धका स्वरूप केही परिवर्तन भएका होलान् तथापि युद्धका कारण, त्यसमा विकसित इगो र सम्बन्धका स्वरूप उही र उस्तै उस्तै छन् । इजरायल–इरान–अमेरिकाबिचको द्वन्द्व र तनावपूर्ण सम्बन्धका लामा इतिहास छन् । इजरायलको अस्तित्वमाथि नै लामो समयदेखि धावा बोलिरहेको इरान, उसले जबर्जस्ती अघि बढाइरहेको आणविक कार्यक्रम अनि अमेरिकाको निरन्तर चर्को दबाबको परिणाम विस्फोट भएर मात्रै अहिले यो युद्धको परिस्थिति उत्पन्न भएको हो । नत्र तनावका यी कारण त दशकौँअघि विकसित भइसकेका थिए । त्यसमा पनि आफ्नो पहिलो कार्यकालका बेला सन् २०१८ मै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि तनावपूर्ण सम्बन्धको अर्को अध्याय सुरु भयो । युद्धका सिलसिला पनि त्यो बेलैदेखि विकसित भएको देखिन्छ । इरानले भित्रभित्रै विकसित गर्दै लगिरहेको आणविक क्षमतालाई इजरायलले आफ्नो अस्तित्वका लागि सबैभन्दा खतराका रूपमा औँल्याउँदै आएको थियो । त्यसमाथि अमेरिकाका लागि इरानको त्यो आणविक कार्यक्रम कुनै पनि हालतमा स्वीकार्य थिएन । यस्तै यस्तै पारिस्थितिकीय परिस्थितिहरूको परिणाम जन्मियो पेन्टागन (अमेरिका) को ‘अपरेसन एपिक फ्युरी’ अनि मोसाद आइडिएफ (इजरायल) को ‘अपरेसन रोअरिङ लायन ।’ इरानका लागि यो एउटा मात्रै युद्धको एउटा रूप थियो तर बाँकी विश्वका लागि भने यो एउटा भयानक परिस्थिजन्य स्थिति बन्यो ।
अमेरिका जस्ता शक्तिशाली राष्ट्र जब कुनै देशमाथि भौतिक रूपमै युद्धमा होमिन्छ अनि सारा विश्व नचाहेरै पनि त्यसमा अप्रत्यक्ष रूपमै भए पनि च्यापिनै पर्छ । खाडीका कुनै पनि राष्ट्रलाई यो युद्धसँग कुनै लेनादेना छैन । जब इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे अनि इरानले त्यसको जवाफमा सिधा अमेरिका र वा इजरायलमाथि प्रहार गरेन बरु उसले खाडीका युएई, कतार, ओमान, साउदी जस्ता राष्ट्रमा आक्रमण ग¥यो । कारण यत्ति मात्रै थियो कि यी राष्ट्र अमेरिकाका प्रत्यक्ष व्यापार साझेदार हुन् र यहाँ अमेरिकी सैनिकका बेसक्याम्प पनि छन् । यी राष्ट्रमाथि आक्रमण गर्नुका पछाडि इरानसँगको कुनै गहिरो दुश्मनी मात्रै नभएर अमेरिकामाथि दबाब सिर्जना गर्नु पनि थियो । नचाहेरै इरानसँग द्वन्द्वको यो चपेटामा फसेका खाडीका यी राष्ट्रले भने इरानमाथि प्रत्यक्ष आक्रमण गरेनन् । बरु आफूहरू रक्षात्मक मात्रै भएर बसे ।
उता इरानले भने सारा विश्वलाई नै हल्लाउने गरी स्ट्रिट अफ होर्मुज बन्द गरिदियो जसका कारण विश्वको इन्धन बजार र अर्थतन्त्र पूरै थर्कमान भयो । यसले पनि विश्वव्यापी रूपमा अमेरिकामाथि थप दबाब सिर्जना भयो । त्यसका लागि इरानले अमेरिकामाथि सिधा आक्रमण गर्नै परेन । इजरायलमाथि पनि इरानको ‘प्रोक्सी वार’ सुरु भयो । यसमा पनि इरानले आफू नै इजरायलमाथि प्रत्यक्ष आक्रमणमा त्यति धेरै सहभागी भएन । छिमेकमा सक्रिय विद्रोही र लडाकु समूहले नै इजरायलमाथि आक्रमण गरिरहेका छन् ।
यो युद्धले लगभग पाँच साता पार गरिसकेको छ । अमेरिकी राष्ट्रपतिले अझै कम्तीमा तीन साता अरू युद्धमय दिनहरू सहनुपर्ने सङ्केत गरेका छन् । यसबाट अझै परिस्थितिको आकलन गर्न अझ धेरै गाह्रो भइरहेको परिस्थिति सिर्जना भएको छ । एकातिर सम्झौताका लागि अमेरिकाले इरानलाई निरन्तर दबाब दिइरहेको छ भने अर्कोतिर अमेरिकाले युद्धलाई अझ अनिश्चिततातर्फ धकेलिरहेको छ । अमेरिकी राष्ट्रपतिका अभिव्यक्तिको विश्लेषण गर्दा उसले इरानमाथिका केही आक्रमणलाई तत्कालका लागि केही कम गरेको जस्तो देखिए पनि आफूले राखेकाबाहेक इरानका सर्तलाई उसले बेवास्ता गरिरहेको आभास हुन्छ । यसरी यो युद्ध कहिलेसम्म कहाँ गएर सकिन्छ भन्ने निक्र्योल निकाल्न गाह्रो छ । त्यसमा पनि ट्रम्पका रणनीति तत्कालका तत्कालै फेरबदल हुने प्रवृत्तिका कारण पनि यसको अनुमान लगाउन गाह्रो हुन्छ । तथापि आशा गरौँ चाँडै याव महादेशले युद्धको तुँवालोबाट उन्मुक्ति पाउने छ ।
यो युद्धबाट सबैभन्दा धेरै एसिया क्षेत्र सबैभन्दा बढी प्रभावित छ । विश्व बजारका उदीयमान आर्थिक शक्ति राष्ट्र चीन र भारत दुवै यो क्षेत्रका सबैभन्दा ठुला तेल आयातकर्ता हुन् । उनैले फेरि नेपाल जस्ता अरू धेरै देशमा तयारी इन्धन निर्यात गर्छन् । भारतले मध्यपूर्वका देशहरूबाट कम्तीमा ६० प्रतिशतभन्दा धेरै कच्चा तेल आयात गर्दै आएको छ । नेपाललगायत दक्षिण एसियाका सबै जसो राष्ट्रमा त्यही कच्चा तेल रिफाइन गरेर तयारी तेल निर्यात गर्ने देश पनि भारत नै हो । यो हिसाबले हेर्ने हो भने अहिले इन्धन व्यापारको सबैभन्दा ठुलो मारमा भारत पनि परिरहेको छ, त्यसबाहेकका देशले भने आपूर्तिको मार खेपिरहेका छन् ।
इरानको निरन्तरको आक्रमणका कारण खाडी राष्ट्रमा इन्धनको सुरक्षा चुनौती बढिरहेको छ । त्यसले एकातिर विश्वबजारमै इन्धनको अभाव सिर्जना गरेको छ भने अर्कोतिर त्यही अभावले मूल्यवृद्धि पनि भइरहेको छ । यसरी क्षेत्रीय शान्ति खलबलिँदै जाँदा समग्रमा इजरायल–इरान–अमेरिका युद्धमा सबैभन्दा धेरै प्रभावित एसिया महाद्वीप नै देखिएको छ । यस्तो अवस्थामा नेपाल जस्ता विकासशील राष्ट्रले आफ्ना शक्तिशाली छिमेकीलाई मध्यस्थताका लागि अनुरोध गर्न सक्छन् । यो भनेको एउटा कूटनीति पनि हो र नेपाल जस्ता राष्ट्रले गर्न सक्ने भनेको यस्तै कूटनीतिक प्रयास मात्रै हुन् ।
अहिले चीन र पाकिस्तानले इजरायल–इरान र अमेरिकीबिचको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास थालेको देखिन्छ । त्यसका लागि पाकिस्तानले खाडीका राष्ट्रसँग छलफल र वार्ता अघि बढाएको छ भने चीनले अमेरिकासँग सम्झौताका लागि प्रयास गरिरहेको छ । यस्तो अवस्थामा नेपाल जस्ता राष्ट्रले कूटनीतिक र मानवीय दृष्टिकोणबाट शक्ति तथा युद्धरत पक्षबिच मध्यस्थताको भूमिका खेल्न सक्छन् । युद्धले एकातिर नेपालकै अर्थतन्त्रमा गम्भीर धक्का लाग्न सक्छ भने अर्कोतिर युद्धको सिकार प्रत्यक्ष रूपमा नेपाली पनि भइरहेका छन् । खाडी राष्ट्रमा लाखौँ नेपाली छन् । यो युद्धमा केही नेपालीको ज्यानसमेत गइसकेको छ । अबको युद्धमा कोही पनि बिजेता वा पराजित हुँदैन । नेपाल जस्ता ‘तटस्थ’ तथा असंलग्न राष्ट्रहरूको भूमिका भनेको यस्तै कूटनीतिक र मानवीय महìवका आधारमा प्रयास मात्रै गर्ने हो । भविष्यमा पनि यस्तो अवस्थामा आयो भने कसरी आफू आत्मनिर्भर हुन सकिन्छ ? भन्नेतिर ध्यान दिने हो । समग्रमा युद्धबाट कसैको हारजित हुँदैन मात्रै क्षति हुन्छ, नोक्सानी हुन्छ । आजको विश्वमा संवाद, कूटनीति, बहुपक्षीयता र सहअस्तित्वको स्वीकार्यता नै सबैभन्दा ठुलो समाधान हो । त्यसका लागि नेपाल जस्ता राष्ट्रले बहुपक्षीय मञ्चहरूमा शान्तिका लागि यस्तै अपिल गर्न सक्नु पर्छ । विश्वपरिवेशमा नेपालले दिन सक्ने योगदान भनेकै यस्तै हो ।