• २२ चैत २०८२, आइतबार

राष्ट्रिय सभा :

सहमति नहुँदा उम्मेदवारको टुङ्गो लागेन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २२ गते । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलले सहमतिमै सभाका उपाध्यक्ष र समितिका सभापति बाँडफाँट गरेर जाने प्रयास गरे पनि सहमति हुन सकेको छैन । नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले आइतबार बिहानसम्म सहमति हुने दाबी गर्नुभयो । आइतबार नै उम्मेदवारी दर्ता हुने छ । 

राष्ट्रिय सभाको उपाध्यक्षसँगै चार वटा समितिको सभापति पद रिक्त छन् । माथिल्लो सदनमा नेकपा (एमाले) ठुलो दल हुँदा उपाध्यक्ष र दुई वटा समितिको सभापति पाएको थियो । एमाले अहिले तेस्रो दल हो । एमाले उपाध्यक्ष पद पाउनुपर्ने अडानमा छ । 

कांग्रेसका प्रमुख सचेतक रोकायले दलीय उपस्थितिका आधारमा साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसले सहमतिको प्रयास गरिरहेको बताउनुभयो । नेकपाले भने उपाध्यक्ष पदमा दाबी गरेको छैन । उसले दलीय उपस्थितिकै आधारमा सहमति हुनुपर्ने जोड दिएको छ । 

राष्ट्रिय सभामा नेकपाबाट निर्वाचित सदस्य घनश्याम रिजालले निश्चित पद लिने विषयमा नेकपाको कुनै दाबी नरहेको प्रस्ट्याउनुभयो । उहाँले साझा सहमतिका लागि प्रयास भइरहेको बताउनुभयो । 

राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल हो । कांग्रेसका २४ जना सदस्य छन् । नेकपाका १७ र एमालेका १० जना सदस्य छन् । जनता समाजवादी पार्टी नेपाल चौथो ठुलो दल हो । उसको दुई जना सदस्य छ । जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाले हालसम्म कुनै पद पाएको छैन । लोसपा नेपाल र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य छन् । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको माथिल्लो सदनमा प्रतिनिधित्व छैन । 

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माको छबर्से कार्यकाल सकेर दुवै समितिको सभापति पद रिक्त भएको हो । 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनम ग्याल्जेन शेर्पा र विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले दुईबर्से कार्यकाल पूरा गरेपछि दुवै समितिको सभापति पद रिक्त छ । राष्ट्रिय सभा नियमावलीको नियम १५० (क) ले समितिका सभापतिको पदावधि दुई वर्षको हुने व्यवस्था गरेको छ ।

उपाध्यक्षको प्रस्ताव दर्ता आज

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज (आइतबार) प्रस्तावको सूचना दर्ता हुँदै छ । राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते सोमबारका लागि निर्धारण गरिएको छ । 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार चैत २२ गते आइतबार दिउँसो २ बजेर ३० मिनेटदेखि ३ बजेर ३० मिनेटसम्म प्रस्तावको सूचना दर्ता हुने समय निर्धारण गरिएको छ । राष्ट्रिय सभाका कुनै माननीय सदस्यलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता हुने छ । 

सचिवालयका अनुसार सिंहदरबारस्थित राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको हलमा उपाध्यक्ष पदको प्रस्तावको सूचना दर्ता हुने छ । यसरी दर्ता भएको प्रस्ताव सोमबारको राष्ट्रिय सभाको बैठकमा निर्णयार्थ पेस हुने छ । राष्ट्रिय सभा नियमावलीको नियम ७ ले अध्यक्ष र नियम ८ ले उपाध्यक्षको निर्वाचन प्रक्रिया सम्बन्धमा व्यवस्था गरेको छ । 

२०७६ माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित विमला घिमिरे २०८० चैतमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । उहाँले आफ्नो छबर्से कार्यकाल पूरा गरेपछि गत फागुनदेखि राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ ।