काठमाडौँ, चैत २१ गते । कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने काठमाडौँका नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दा देखिन थालेका छन् । धाेबीखाेला नदी किनारमा ढकमक्क फुलेका फूल र बाक्लो हरियालीले काठमाडौँको सहरी सौन्दर्यलाई नयाँ उचाइ दिएको छ ।
कोरिडोरका विभिन्न खण्डमा विशेष गरी ‘बगनबेली’ फूलहरू गुलाबी, सेतो र पहेँलो रङ्गमा ढकमक्क फुलेका छन् । नदी किनारै किनार बनाइएका रातो रेलिङ र इँट्टाका पर्खालहरूमा लत्रिएका फूलले बटुवाको मन लोभ्याउने गरेको छ । केही वर्ष अघिसम्म झाडी र फोहोरले भरिएका यी किनार अहिले व्यवस्थित उद्यानजस्तै देखिन्छन् ।
नदीको बहाव अहिले शान्त छ र किनारका तटबन्धहरू सफा देखिन्छन् । ढुङ्गाको कलात्मक पर्खाल र व्यवस्थित फुटपाथले गर्दा नदी क्षेत्र थप सुरक्षित र आकर्षक बनेको छ । यद्यपि, पानीमा दुर्गन्ध भने अझै कायमै छ, जसले नदी शुद्धीकरणका लागि थप काम गर्न बाँकी रहेको देखाउँछ ।
बदलिँदो स्वरूपसँगै किनारमा सर्वसाधारणको उपस्थिति पनि बाक्लिएको छ । युवायुवती र बटुवाहरू नदी किनारको स्वच्छ वातावरणमा रमाउँदै हिँडडुल गरिरहेका देखिन्छन् । कोरिडोरका सडकमा सवारीसाधनको आवागमन पनि व्यवस्थित देखिन्छ । सहरी व्यस्तताका बीच शान्तिको अनुभूति गर्न र तस्बिर खिच्नका लागि यो क्षेत्र अहिले आकर्षक गन्तव्य बनेको छ ।
पृष्ठभूमिमा देखिने आधुनिक भवन र अगाडिको भागमा देखिएको सघन हरियालीले काठमाडौँले आधुनिकता र प्रकृतिबीच सन्तुलन मिलाउने प्रयास गरिरहेको झल्काउँछ । बिजुलीका पोल र कोरिडोर सडकको व्यवस्थित निर्माणले सहरी विकासको सकारात्मक पाटोलाई उजागर गरेको छ । बागमती सफाइ महाअभियान र सरकारको कोरिडोर निर्माण योजनाले अहिले सार्थक रूप लिँदै गएको देखिन्छ । नदीको स्वच्छतालाई कायम राख्दै यस्तै प्रकारको सौन्दर्यकरणलाई निरन्तरता दिने हो भने बागमती पुनः आफ्नो पुरानो साख र सभ्यतामा फर्कने विश्वास गर्न सकिन्छ ।

















तस्बिर : अनुप प्रधान/न्युज एजेन्सी नेपाल