• २१ चैत २०८२, शनिबार

दाङमा चार साहित्यकार पुरस्कृत

blog

कार्यक्रममा सम्मानित साहित्यकारहरु ।

लीलाधर वली 

घोराही, चैत २१ गते । दाङमा चार जना साहित्यकार पुरस्कृत हुनुभएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको १८ औं बार्षिकोत्सवको अवसरमा शनिवार घोराहीमा चारजना साहित्यकार पुरस्कृत हुनुभएको हो । 

राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा बरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट डा. टीकाराम उदासी, कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट हरि पोख्रेल, नेत्र–मोहनादेवी साहित्य पुरस्कारकाबाट डिल्लीराज श्रीधर र वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट खगेश्वर भण्डारी पुरस्कृत हुनुभएको हो । 

साहित्यको माध्यमबाट नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै परिषद्ले पुरस्कृत गरेको जनाएको छ । बार्षिकोत्सवको अवसरमा साहित्यकार तथा लेखक गुरुप्रसाद शर्मा रेग्मी र पुरस्कार संस्थापकतर्फबाट देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारका संस्थापक लालबहादुर आरसीलाई सम्मान गरिएको छ ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा. अमर गिरीले राप्ती साहित्य परिषद्ले दाङमा साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले साहित्य समाजको दर्पण भएको उल्लेख गर्दै साहित्यकारले आफ्ना सिर्जनामार्फत सामाजिक विकृति र विसंगतिविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिनुभएको थियो । 

दाङसहित साविकको राप्ती क्षेत्रमा साहित्य र साहित्यिक चेतनाको विरासतलाई फैलाउन राप्ती साहित्य परिषदले महत्वपूर्ण भूमिका खलेको बताउनुभयो ।  वार्षिकोत्सवको अवसरमा साहित्यकारहरूले कविता, गीतलगायतका विभिन्न रचना वाचन गर्नुभएको थियो ।