टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), चैत २१ गते । गुल्मीको मालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा तेह्रसयले सेवा लिएका छन् । मालिका गाउँपालिका –७ घमिरमा खेलकुद तथा सांस्कृतिक युवा क्लवको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा १३८ जनाले भिडियो एक्सरे तथा १०५ जनाले इसिजी गरेको क्लवले जनाएको छ । खेलकुद तथा सांस्कृतिक युवा क्लवका सचिव गोविन्द कार्कीका अनुसार शिविरमा अर्थोपेडिक तथा प्रत्यारोपण बिशेषज्ञ डा. रमेश अर्याल, बरिष्ठ कन्सल्टेन्ट फिजिसियन गोल्ड मेडलिस्ट बिशेषज्ञ डा. सुमन आचार्य, नाक, कान र घाँटी रोग बिशेषज्ञ डा. सन्तोष बस्नेत, एमडिजीपी डा. सुनिल सुनार र मेडिकल अधिकृतहरू विजय पाण्डे, सन्तोष पाण्डे र आशिष भुर्तेलसहितका डाक्टरबाट बिरामीहरुको स्वास्थ्य परीक्षण तथा औषधी वितरण भएको थियो । शिविरमा इसिजी, भिडियो एक्सरे र औसधी निःशुल्क वितरण गरिएको थियो ।
मालिका गाउँपालिका र छिमेकी पालिकाका समेत नागरिकले अत्यधिक उर्जाका साथ शिविरमा आएर निःशुल्क सेवा लिएकोमा अत्यन्तै खुशी लागेको क्लबका अध्यक्ष सुमन पन्थीले बताउनुभयो । विशेषज्ञ डाक्टरहरु भेट्न ठुला सहर जानुपर्ने र हजारौं रकम खर्च हुँदा रोग लुकाएर बस्न बाध्य ग्रामीण नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको पहुँच दिलाउनु नै क्लबको सबैभन्दा ठुलो खुसी भएको पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो “आर्थिक अभाव र विभिन्न कारणले गाउँमै रोग लुकाएर बस्न बाध्य हुनेहरूका लागि शिविर निकै प्रभाबकारी बन्यो । तेह्रसय नागरिक शिविरबाट लाभान्वित भएका छन् ।”