• २१ चैत २०८२, शनिबार

नेपालभाषा मनोरञ्जन क्षेत्रका श्रष्टालाई पुरस्कृत गरिने

blog

अवार्डका बारेमा मन्तव्य राख्नुहुँदै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, चैत २१ गते । नेपालभाषा मनोरञ्जन क्षेत्रका सर्जकलाई सम्मान गर्ने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को घोषणा गरिएको छ । सिटी सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा अवार्डको पाँचौँ संस्करण घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले नेपालभाषा राष्ट्रको मौलिक भाषा भएकाले यस भाषामार्फत आफ्ना सिर्जना पस्कने सर्जकलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । सामाजिक सञ्जालमा आउने ‘भ्यूज’ का सङ्ख्याले मात्र कुनै पनि सिर्जनाको मूल्याङ्कन अन्तिम नहुने बताउँदै उहाँले नैतिकता र पारदर्शिताका आधारमा अवार्ड कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले यस किसिमको अवार्डले सर्जकमा काम गर्ने आत्मबल थपिने र प्रोत्साहित हुने बताउनुभयो । उहाँले तीन वर्षको अन्तरालमा भइरहेको यो कार्यक्रमको अवधि छोटो बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपालभाषा, साहित्य र मनोरञ्जन क्षेत्रको विकासका लागि आफूहरू सदैव तत्पर रहेको प्रबन्ध निर्देशक नरेशवीर शाक्यले बताउनुभयो । उहाँले नेपालभाषा मनोरञ्जन क्षेत्रमा सक्रिय रहनुभएका श्रष्टाको योगदानलाई सम्मान गर्नकै लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

६० प्रतिशत निर्णायक मण्डल र ४० प्रतिशत सार्वजनिक मतका आधारमा उत्कृष्ट नेपालभाषाका गीत, सङ्गीत, म्युजिक भिडियो तथा चलचित्रलाई अवार्ड वितरण गरिने छ । यस क्षेत्रमा विशिष्ट योगदान दिनुभएका एक सर्जकलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ । आज घोषणा भएको अवार्डका लागि चैत २१ गतेदेखि २०८३ वैशाख ५ गतेसम्म आफ्ना कृति समावेश गर्न आह्वान गरिएको छ ।