कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत १९ गते । यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ ।
सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल-१३ बेलबास बस्ने ३७ वर्षीया कुसुम मरासिनी हुनुहुन्छ ।
उहाँहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभयो । प्रहरीले कार्यालयभित्र हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रणका लागि निगरानी कडा बनाएको जनाएको छ ।
साथै सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन कार्यालयले नागरिक सहायता कक्षसमेत स्थापना गरेको जनाएको छ ।