• २१ चैत २०८२, शनिबार

आँबुखैरेनीको विकट बस्तीमा सडक कालोपत्र

blog

आँबुखैरेनी वडा नम्बर ६ मा गरिएको कालोपत्र ।

अमरराज नहर्की 

तनहुँ, चैत २१ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका –६ का बासिन्दाले वर्षौंदेखि देख्दैआएको पक्की सडकको सपना साकार भएको छ । गाउँपालिकाको विकट मानिने यस वडामा पहिलो पटक सडक कालोपत्र सुरु भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

भौगोलिक रूपमा दुर्गम र विकासको दृष्टिले पछिपरेको यस क्षेत्रमा गाउँपालिकाले आफ्नै सक्रियता र बजेट व्यवस्थापन मार्फत पूर्वाधार विकासलाई तीव्रता दिएको छ । हाल जोगीनिभञ्ज्याङदेखि वडा ६ को कार्यालय सम्मको सडक स्तरोन्नतिसँगै कालोपत्रको काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विकट बस्तीलाई सुगमसँग जोड्ने अभियान अन्तर्गत पहिलो पटक कालोपत्रको काम सुरु गरिएको बताउनुभयो । अध्यक्ष चुमानले भन्नुभयो, “वडा ६ का बासिन्दाले लामो समयदेखि धुलो र हिलोको सास्ती खेप्दै आउनुभएको थियो । अहिले जोगीनिभञ्ज्याङदेखि हिलेखर्कसम्मको खण्डमा कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।” 

उहाँले सङ्घीय सरकारबाट थप बजेट विनियोजन भएमा यस क्षेत्रका सबै खण्डलाई पूर्ण रूपमा स्तरोन्नति गरिने जानकारी दिनुभयो । यसैगरी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले सडक निर्माणले ग्रामीण अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष अर्यालले भन्नुभयो, “विकट बस्तीमा सडक पुग्नु भनेको केवल बाटो बन्नु मात्र होइन, यो यहाँका किसान र महिलाहरूको समृद्धिको ढोका खुल्नु पनि हो । सडक सहज भएपछि स्थानीय उत्पादनले उचित मूल्य पाउने छ र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा नागरिकको पहुँच सहज हुनेछ ।“

हिउँदमा धुलो र बर्खामा हिलोका कारण सदरमुकाम र मुख्य बजारसम्म पुग्नै मुस्किल हुने गरेको सडक कालोपत्र भएपछि खुसीयाली छाएको वडा ६ का वडाध्यक्ष दिलिप गुरुङले बताउनुभयो । सडक सुविधा पुगेसँगै यहाँ उत्पादित फर्सी, निउरो र भ्याकुरजस्ता कृषिउपजले सहजै बजार पाउने र आन्तरिक पर्यटनको समेत विकासमा मद्दत पुग्ने गुरुङ बताउनुहुन्छ ।