• २१ चैत २०८२, शनिबार

अक्षयकोषबाट ५६ विद्यार्थी सम्मानित

blog

विद्यालयको वार्षिकोत्सवका अवसरमा सम्मानित विद्यार्थी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २१ गते । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित एक विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट ५६ जना विद्यार्थीलाई सम्मान गरिएको छ । यहाँको आम्बेगुदिन माध्यमिक विद्यालयमा रहेको अक्षयकोषबाट सो सङ्ख्यामा विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।

विद्यालयको ७५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमका बीच सोही विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई अक्षयकोषको रकमबाट सम्मान गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईका अनुसार विद्यालयमा रहेका १३ वटा अक्षयकोषको रकमले विभिन्न विधामा छनोट भएका ५६ जना विद्यार्थीलाई एकैसाथ सम्मान गरिएको हो ।

अक्षयकोषबाट सम्मानित विद्यार्थीलाई नगद र सम्मानपत्र प्रदान गरिएको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीसँगै विद्यालयको वार्षिकोत्सवका अवसरमा उत्कृष्ट शिक्षक, अभिभावक र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको छ ।

सम्मानित हुने विद्यार्थी, शिक्षक र अभिभावकलाई सिरीजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान लगायतले सम्मान गर्नुभएको विद्यालयले जनाएको छ । त्यस्तै विद्यालयको वार्षिकोत्सवका अवसर पारेर तीन जना दाताले नयाँ अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयका शिक्षक तेजबहादुर भट्टराईका अनुसार स्थानीय नरेन्द्र कुँवरले एक लाख ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

यस्तै स्थानीय सूर्यमान भट्टराईले १८ हजार रुपियाँ र चन्द्रकला अधिकारीले १५ हजार रुपियाँको अक्षयकोष विद्यालयमा स्थापना गर्नुभएको शिक्षक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार दाताहरूले स्थापना गर्नुभएका नयाँसहित विद्यालयमा अक्षयकोषको सङ्ख्या १६ पुगेको छ । यसअघि स्थापना गरिएका विभिन्न १३ वटा अक्षयकोषको मौज्दात रकम करिब १७ लाख रुपियाँ रहेको छ ।

यता विद्यालय स्थापना दिवसकै अवसरमा आयोजित कार्यक्रमका बीच कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सम्मानसहित बिदाइ गरिएको छ । वार्षिकोत्सव कार्यक्रमकै अवसरमा विद्यालयको यस वर्षको वार्षिक परीक्षाको नतिजासमेत शुक्रबार सार्वजनिक गरिएको शिक्षक तेजबहादुर भट्टराईले जानकारी दिनुभयो ।