राधा लुइटेल
फिदिम, चैत २१ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका –१ मा हजार दिनको आमालाई पोषण सामग्री वितरण गरिएको छ । गर्भावस्थादेखि सुत्केरीपछिको एक हजार दिनसम्मका आमाहरूलाई वडा कार्यालयले पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराएको हो । वितरण गरिएका सामग्रीमा अण्डा, चना, मटर दाल र आयोडिनयुक्त नुनलगायत रहेका छन् ।
पोषण अभाव न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । यसैबिच, वडामा निर्माण सम्पन्न स्वास्थ्य चौकी भवन उदघाटनको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । नवनिर्मित भवनको उदघाटन गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वे र उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले गर्नुभयो ।
उक्त कार्यक्रममा उपस्थित गराई एक सयभन्दा बढी आमाहरूलाई पोषण सामग्री वितरण गरिएको वडाध्यक्ष होमप्रसाद आङदेम्वेले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता थियो ।