युक्रेन, चैत २१ गते । युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण परी पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएको अधिकारीले बताएका छन् । क्षेत्रीय गभर्नर ओलेक्सान्डर गन्जाले टेलिग्राम पोस्ट मार्फत आक्रमणमा तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको बताउनु भएको छ ।
उहाँले घाइते भएका १९ जना मध्ये एक १४ वर्षीया बालिकाको अवस्था “गम्भीर” रहेको जनाउनु भएको छ । उत्तरपूर्वी सहर खार्किवमा शनिबार भएको घटनाको क्षेत्रीय प्रहरीलेसमेत पुष्टि गरेको छ । युक्रेनी वायु सेनाले रूसले रातारात २८६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये २६० वटा रोक्न सफल भएको बताएको छ ।
उत्तरी सुमी क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । युक्रेनी आपतकालीन सेवाले जारी गरेको तस्बिरमा आक्रमणको कारण आगलागी भएको भवन देखाएको थियो । रूस र युक्रेनको सिमानामा रहेको दक्षिणी रोस्तोभ क्षेत्रमा भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको क्षेत्रीय गभर्नर युरी स्लुसारले बताउनु भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग वार्ताका लागि शनिबार अन्कारा पुगेको जनाइएको छ । यस अघि संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा दुई पक्षबिचको वार्ता मध्यपूर्वमा भएको युद्धको कारण अवरुद्ध भएको थियो । गत हप्ता जेलेन्स्कीले धेरै मध्य पूर्वी देशको भ्रमण गरी कतार र साउदी अरबसँग रक्षा सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । रासस/एएफपी