रामकृष्ण बोहोरा
बागलुङ, चैत २० गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२, देवीस्थानको उच्च भागमा पर्छ ‘अर्नाकोट’ गाउँ । कठिन भूगोलका कारण विकासमा पछि परेको अर्नाकोटमा पानीका मुहान सुक्दै जानु र लिफ्ट खानेपानी आयोजना जीर्ण बनेपछि खानेपानीको खोजीमा बसाइँसराइ दर बढ्दो छ ।
बर्सौंदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएका अर्नाकोटवासीको घर घरमा खानेपानीको पहुँच सुनिश्चित गर्न झन्डै पाँच करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै छ ।
कर्मा फ्लाइट्स फाउन्डेसनको समन्वयमा निसीखोला गाउँपालिकाको २९ लाख २४ हजार ८२६ रुपियाँ, युनिका फाउन्डेसनको तीन करोड ४७ लाख ८५ हजार १५९ रुपियाँ, नेपाल रेडक्रस सोसाइटी कास्कीको छ लाख ३० हजार र एक करोड १४ लाख ९० हजार बराबरको जनश्रमदान गरी कुल चार करोड ५८ लाख ३० हजार ६५० रुपियाँको लागतमा अर्नाकोट लिफ्टिङ खानेपानी तथा सरसफाइ स्तरोन्नति परियोजना अन्तर्गत आयोजना बन्न लागेको हो ।
निसीखोला गाउँपालिका–२, उपल्लो बेङ्ग्रीस्थित हाडीचार मुहानबाट पानी लिफ्टिङ गरेर झन्डै दुई हजार मिटरको उचाइमा रहेको धम्पुमा सङ्कलन गरिने छ । सङ्कलन गरिएको पानी अर्नाकोटका दुई सय घरधुरीमा वितरण गरिने आयोजना निर्माण उपभोक्ता समितिका सचिव ओमबहादुर रसाइलीले जानकारी दिनुभयो । “२०७० मा लिफ्ट प्रविधिबाट पानी ल्याउने प्रयास भए पनि दीर्घकालीन व्यवस्थापन अभाव र संरचना जीर्ण बनेपछि आयोजना प्रभावकारी हुन सकेको थिएन । यस पटक भने दिगोपनालाई ध्यानमा राखेर आयोजना स्तरोन्नतिको काम धमाधम भइरहेको छ,” रसाइलीले भन्नुभयो, आयोजना अन्तर्गत ‘एक घर एक धारा’ निर्माण गरिने भने ११ वटा पानी सङ्कलन गर्ने ट्याङ्की बन्ने छन् ।