जनार्जन खत्री
सर्लाही, चैत २० गते । युवा उमेरका रविन महतो पहिलो पटकमै सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो ।
सर्लाही क्षेत्र नं. २ बाट आलोपालो चुनाव जित्दै आउनुभएका मधेशका पुराना नेता महेन्द्रराय यादव र राजेन्द्र महतोलाई यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा भारी मतान्तरले पराजित गर्दै उहाँले संसदीय यात्रा तय गर्नुभएको हो ।
प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका महतोले ४२ हजार ५१२ मत प्राप्त गर्न्ुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एवं निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गर्नुभयो । निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाँच हजार ९९२ मत प्राप्त गर्नुभयो ।
सर्लाही–२ मा यो पटक पनि पुराना दुई प्रतिस्पर्धी महेन्द्र राय यादव र राजेन्द्र महतोबिच नै कडा प्रतिस्पर्धा हुने आकलनका बिच रास्वपाका प्रतिनिधि सभा सदस्य महतो भारी मतान्तरसहित निर्वाचित हुनुभयो । चुनावी नतिजापछि दुई चर्चित अनुहार ‘गुमनाम’ बन्दा महतो भने चर्चामा आउनुभएको छ ।
छ पटक मन्त्री बनेका यादव र पाँच पटक मन्त्री बनेका राजेन्द्र महतोलाई पराजित गर्दै रविन महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । महतोले नागरिकको आवश्यकता अनुसार काम गर्ने बताउनुभएको छ । सर्लाही–२ मा सुशासन कायम गर्नु नै आफ्नो पहिलो प्राथमिकता हुने प्रतिनिधि सभा सदस्य महतोको भनाइ छ ।
प्रतिनिधि सभा सदस्य महतोले भन्नुभयो, “जनताले परिवर्तनको पक्षमा मतदात गरेर मलाई निर्वाचित गराएका हुन् ।”
देशले नै परिवर्तन चाहेका बेला सर्लाही–२ का नागरिकले पनि सोही अनुसार अभिमत व्यक्त गर्दा आफूखुसी भएको महतोको भनाइ छ । फागुन २१ गतेको चुनावले सर्लाही–२ का नागरिक पनि अब शोषण, अत्याचार र अनियमितताका विरुद्धमा उभिन्छन् भन्ने कुराको पुष्टि गरेको उहाँले बताउनुभयो ।
चुनावअघि सामाजिक कार्यमा सरिक हुँदै आउनुभएका उहाँले चुनावपछि पनि आफूले सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो । बेवारिसे बनेका सार्वजनिक पोखरीको सरसफाइ, झुत्रो भएर गिज्याइरहेको सीमावर्ती क्षेत्रको मुख्य नाकामा रहेका झन्डा फेर्ने र नागरिकका बस्तीमा पुगेर समस्या सुन्ने काम सुरु गरिसकेको महतोको भनाइ छ ।
उहाँले आफूलाई राजनीतिकर्मी नभई परिवर्तन चाहने सामाजिक व्यक्तिका रूपमा चिनाउनुहुन्छ । आफू काम गर्न आएकाले काम दिन सर्लाही–२ का स्थानीयसँग आग्रह गर्नुभएको छ ।
आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको समस्या उत्पन्न हुनासाथ आफू तुरुन्त पुग्ने सांसद महतोको भनाइ छ । लामो समयदेखि छलकपट र अनेक प्रलोभनमा परेर शोषित भइरहेका नागरिक यो पटक परिवर्तनको पक्षमा उभिँदा असाध्य खुसी लागेको उहाँले बताउनुभयो ।
निर्वाचित भएपछि शपथग्रहण, प्रतिनिधि सभाको बैठकलगायतमा सरिक हुन व्यस्त हुनुभएका महतोले अब निर्वाचन क्षेत्रमा आएर नागरिकका समस्या र गुनासो सुन्ने तथा त्यसलाई सम्बोधन गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नागरिकको काम गर्ने वाचा गरेर आएको छु, त्यसैले म अब कामतर्फ अग्रसर हुन्छु ।” उहाँले यस क्षेत्रमा सिँचाइको समस्या, शिक्षा र स्वास्थ्यको दयनीय स्थिति, सडकको दुरवस्था र लागुऔषधको दुव्र्यसनी तथा ओसारपसार प्रमुख समस्याका रूपमा रहेको भन्दै यी समस्याको समाधान गर्न स्थानीय सरकारसँगको समन्वयमा अग्रसर हुने बताउनुभयो ।