• २० चैत २०८२, शुक्रबार

विद्यालय समायोजनको गृहकार्य

blog

विद्यालय समायोजन विषयमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रम । तस्बिर : वासुदेव शर्मा

खलङ्गा समाचारदाता 

जाजरकोट, चैत २० गते । जाजरकोटको शिवालय गाउँपालिकाले शिक्षामा सुधार ल्याउनका विद्यालय समायोजनको तयारी गरेको छ । गाउँ गाउँमा सञ्चालन गरिएका विद्यालयमा विद्यार्थी कम भएपछि विद्यालय समायोजन, शिक्षक, कर्मचारी दरबन्दी मिलानको व्यवस्थापन जस्ता काम गर्नका लागि प्रधानाध्यापक, अध्यक्षसँग गृहकार्य थालिएको हो । 

शिक्षा विकास तथा खेलकुद शाखा प्रमुख मानबहादुर बस्नेतले शिक्षा नीतिमा ४५ विद्यार्थी बराबर एक शिक्षक व्यवस्था गरेपछि सोही अनुसार समायोजन र कक्षा घटाउनुपर्ने बताउनुभयो  । जिल्लामा कुल ९६ विद्यालयमध्ये बालविकास केन्द्र ४१, प्राथमिक विद्यालय २८, आधारभूत विद्यालय १३, माध्यमिक विद्यालय १४ रहेका छन् । ४५ जना विद्यार्थी नपुगेका सात वटा विद्यालय समायोजन, १८ वटा विद्यालयको कक्षा घटाउनुपर्ने प्रस्ताव गरिएको छ । प्राथमिक विद्यालयमा ६५, आधारभूत विद्यालयमा १३, माध्यमिक विद्यालय ९–१२ मा आठ शिक्षक दरबन्दी रहेका छन् । 

राहतमा ३४ प्रावि, १३ आवि, १२ मावि, सङ्घीय अनुदानतर्फ (बालविकास केन्द्र) ३२, स्थानीय अनुदान १६ जना शिक्षक कार्यरत रहेका छन् । विद्यार्थी कम विद्यालयमा मर्ज तथा कक्षा घटाउनुपर्ने विषयमा सरोकारवालासँग छलफल भएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक गोपाल पुनले विद्यालय समायोजन गर्नुभन्दा विद्यार्थी सङ्ख्या बढाउनुपर्ने सुझाव दिनुभयो । सामुदायिक विद्यालयका शिक्षकले बालबालिका बाहिर पढाउँदा सङ्ख्या कम भएको उहाँको भनाइ छ । 

भौगोलिक विकटताले बालबालिकाको विद्यालयसम्म पुग्न कठिन हुने भएकाले समायोजनभन्दा कक्षा घटाउन सरोकारवाला सहमत भएका छन् । सुविधाको खोजीमा गाउँबस्ती छोड्न थालेपछि समस्या आएको छ । दुई ठाउँमा बस्ती भएपछि बालबालिकाको पढाइमा सुधार आउन सकेको छैन । शिवालय गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले विद्यार्थी नहुने विद्यालय ३० मिनेटको दुरीमा रहेका विद्यालय मर्ज गर्नुपर्ने बताउनुभयो ।