हरिप्रसाद कोइराला
उर्लाबारी, चैत २० गते । प्रतिनिधि सभा सदस्यमा मोरङ–६ बाट निर्वाचित सांसद रुविना आचार्यले पहिलो चरणमा निर्वाचन क्षेत्रका अधुरा र अपूरा विकासनिर्माणका काम सम्पन्न गर्ने बताउनुभएको छ ।
उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५५ हजार ५१३ मत प्राप्त गरी विजयी हुनुभएको हो । आचार्यले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई ४२ हजार ६६३ मत अन्तरले हराउनुभएको हो । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा कांग्रेसभित्र कोइराला परिवारको विशेष योगदान छ । कांग्रेसका उम्मेदवार कोइरालाले १२ हजार ८५० मत मात्र प्राप्त गर्नुभयो ।
सांसद आचार्यले सुकुमवासी समस्या समाधान, खोला तटबन्ध र गरिबी निवारणका लागि साना रोजगारी सिर्जना प्राथमिकतामा रहेको बताउनुभयो । बुढीगङ्गा–३ को ऋषिदेव बस्तीमा केही दिनअघि आगलागी हुँदा १२ पीडित परिवारलाई अझै सुरक्षित घरमा सार्न नसकिएको बताउँदै उहाँले विपन्नका लागि सुरक्षित आवासका लागि नीति निर्माण गर्ने उल्लेख गर्नुभयो ।
मोरङ जिल्लामा राष्ट्रिय गौरवका आयोजना प्रशस्त भएको उल्लेख गर्दै उहाँले ती आयोजना पूरा गर्नका लागि पार्टीमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले राष्ट्रिय गौरवका आयोजनाका सन्दर्भमा एक्लै केही गर्न सक्दिनँ । यी आयोजना समग्र राष्ट्रका हुन् । मोरङका सबै माननीयको साझा धारणा तयार गरी हामी अघि बढ्छौँ ।”
आचार्यले सय दिनभित्र गरिने कामको सूची सरकारले बनाइसकेको उल्लेख गर्दै भन्नुभयो, “हाल वडास्तरमा रहेका अपूरा र अधुरा काम सम्पन्न गर्नु हाम्रो पहिलो दायित्व हो ।” बजेट निर्माणपछि अरू विकासनिर्माणका काम आवश्यकताको सिद्धान्त अनुसार अघि बढाइने छ ।
विराटनगर महानगर–४, आयल निगम चोकमा २०५१ साल माघ १० गते जन्मिएकी आचार्यले प्रारम्भिक शिक्षा स्थानीय इडेन नेसनल स्कुलमा पूरा गर्नुभयो । विराटनगरकै मेरिल्यान्ड स्कुलबाट १२ कक्षा उत्तीर्ण गरेकी आचार्यले कलेज अफ अप्लाइड बिजनेस काठमाडौँबाट स्नातक गर्नुभयो । काठमाडौँ विश्वविद्यालयबाट एमबिए (स्कुल अफ म्यानेजमेन्ट) पूरा गरेकी सांसद आचार्यले केही समय ‘टेवा’ नामको गैरसरकारी संस्थामा काम गर्नुभयो । आचार्यले टेवामा काम गर्दा पछाडि पारिएका विपन्न, दलित र अल्पसङ्ख्यक महिलालाई जीविकोपार्जनका लागि बिउ पुँजी उपलब्ध गराउनुभयो । महिला सशक्तीकरणका क्षेत्रमा लामो समय काम गरेकी आचार्यले केही समय चितवन मेडिकल कलेजमा ब्रान्डिङ र बजार व्यवस्थापनको कामसमेत गर्नुभयो ।
टेवामा काम गर्दागर्दै समाजसेवामा जोडिएकी आचार्य राजनीतिलाई सामाजिक सेवामै समर्पण गर्ने बताउनुहुन्छ । आचार्य विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । रास्वपासँग पार्टी एकीकरण भएपछि उहाँले मोरङ–६ बाट टिकट पाउनुभएको हो ।