• २० चैत २०८२, शुक्रबार

रौतहटबाट पाँच जना बिचौलिया पक्राउ

blog

प्रवीण कुमार शर्मा 

रौतहट, चैत २० गते । रौतहट सदरमुकाम गौरबाट शुक्रबार पाँच जना बिचौलिया पक्राउ परेको छ । 

गौरमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाट चार जना र गौर बसपार्कबाट एक जना बिचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सेवाग्राहीलाई अनावश्यक रूपमा हैरान पारेर ठगी कार्यमा संलग्न पाँचै जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक जीवन मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा यमुनामाइ गाउँपालिका वडा २ का २८ वर्षीय  सिकित नारायण, राजदेवी नगरपालिका वडा ७ का २४ वर्षीय बब्लु प्रसाद यादव, सोहि ठाउँका ३० वर्षीय  श्याम बिहारी यादव, परोहा नगरपालिका वडा ७ का  ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका वडा ८ का ६० वर्षीय राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मैनालीले जानकारी दिनुभयो ।

मालपोत कार्यालय, जिल्ला अदालत  लगायत अन्य सरकारी कार्यालयमा सेवाग्राहीलाई काम छिटो छरितो गराई दिने भन्दै सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरुमा जाने र सो वापत अनुचित लाभ लिने लगायतका कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लामो समयदेखि मालपोत कार्यालय लगायत बढि भिडभाड हुने कार्यालयमा बिचौलियाहरुले सर्वसाधारणलाई दुःख दिँदै आएको भएता पनि प्रहरी सक्रिय हुन् नसक्दा जनताले हैरानी खेप्नुको साथै  आर्थिक रुपमा पिडित हुदै आएको थियो । वर्तमान सरकार सुशासन कायमसँगै जनताको हरेक पिडालाइ बुझ्दै समाधान गर्ने तर्फ उन्मुख भएको कारण प्रहरीले सक्रियता बढाएको गौर –४ का स्थानिय देवसरण पण्डितले बताउनुभयो ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाहीको माग समेत उठेको छ ।