• २० चैत २०८२, शुक्रबार

आगलागी पीडित उद्यमी लामिछानेलाई परदेशी युवाको पाँच लाख सहयोग

blog

सहयोग हस्तान्तरण कार्यक्रम ।

प्रनिश गिरी

कुश्मा (पर्वत), चैत २० गते । आगलागीबाट डेरी उद्योग नष्ट भई आर्थिक सङ्कटमा पर्नुभएका पर्वतका युवा उद्यमीलाई विदेशमा रहेका साथीभाइले आर्थिक सहयोग गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा 'रसिल डेरी उद्योग' सञ्चालन गर्दै आउनुभएका ३८ वर्षीय युवा रामसागर लामिछानेलाई अमेरिकामा रहेका युवाले पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् ।

गत चैत ३ गते दिउँसो ग्यास लिक भई भएको आगलागीबाट लामिछानेको वर्षौँको लगानीमा स्थापित उद्योग केही क्षणमै खरानी भएको थियो । आफ्नै आँखा अगाडि उद्योग नष्ट भएपछि विक्षिप्त बन्नुभएका लामिछानेलाई अमेरिकामा रहेका गाउँकै भाइ अनुज लामिछानेको पहलमा सङ्कलित उक्त रकमले ठुलो राहत पुगेको छ । आगलागीमा परी दूध तताउने र चिस्याउने मेसिनका साथै दुग्धजन्य सामग्रीहरू जलेर नष्ट भएका थिए ।

पाँच वर्ष दक्षिण कोरियामा श्रम गरेर फर्कनुभएका लामिछानेले स्वदेशमै केही गर्ने उद्देश्यले करिब ४५ लाख रुपैयाँको लगानीमा डेरी उद्योग सुरु गर्नुभएको थियो । उहाँले भन्नुभयो, “आफ्नै माटोमा सङ्घर्ष गर्ने अठोटका साथ कोरियाबाट फर्केर उद्योग सुरु गरेको थिएँ, तर दैवले बज्रपात पार्‍यो । यस्तो बेला साथीभाइले गर्नुभएको सहयोगले मलाई पुन: उठ्ने हिम्मत र ऊर्जा मिलेको छ ।”

आगलागीपछि लामिछानेले स्थानीय किसानबाट दूध सङ्कलनको काम पुन: सुरु गरिसक्नुभएको छ । उद्योगका लागि आवश्यक करिब २७० लिटर दूध उहाँले फलेवास, रुब्दी, नुवार र भेडाबारीका किसानबाट खरिद गर्दै आउनुभएको छ । उहाँको उद्योगमा उत्पादित कुराउनी, पनिर, दही, छुर्पी र खुवा स्थानीय बजारमै खपत हुने गरेको छ । युवा उद्यमी लामिछानेलाई पर्वत उद्योग वाणिज्य सङ्घले पनि एक थान डी–फ्रिज सहयोग गरेको छ ।